काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

याे साता ३०.५४ अंकले घट्याे नेप्से

13.06K
shares

पछिल्लो एक सातामा सेयर बजार मापक नेप्से परिसूचक ३०.५४ अंकले घटेकाे छ । अघिल्लो साता १४५.०८ अंकले गिरावट भएको नेप्से परिसूचक यो साता ३०.५४ अंकले घटेको हो ।

गएको साताको अन्तिम कारोबार दिन शुक्रबार २०७८.७० विन्दुमा रहेको नेप्से यो साताको अन्तिम कारोबार शुक्रबारसम्म ३०.५४ अंकले घटेर २०४८.१६ विन्दुमा झरेको छ । साताको पाँच दिन भएको सेयर कारोबारमा चार दिन नेप्से गिरावट हुँदा एक दिन भने वृद्धि भएको थियो । पछिल्लो समय सेयर बजार लामो समयदेखि निरन्तर रूपमा गिरावट हुँदै आएको छ । बजारमा आएको निरन्तर गिरावटका कारण १० महिनाअघि ३२ अंकनजिक पुगेको नेप्से करिब ११५०.६७ अंकले गिरावट आएर २०४८.१६ अंकको विन्दुमा झरेको छ ।

चालु आर्थिक वर्षको सुरुवातसँगै बैंकिङ प्रणालीमा आएको लगानीयोग्य रकम (तरलता)को अभाव तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिले सेयर धितो कर्जामा लगाएको चार, १२ करोडको नीतिका कारण सेयर बजार घट्दै गएको छ । सरकारले आउँदो आर्थिक वर्षको बजेट ल्याएपछि समेत बजार सुधार हुन सकेको छैन । साताको पहिलो कारोबारको दिन सोमबार नेप्से सूचकमा १२.८९ अंकले गिरावट आएर २०६५.८२ विन्दुमा झरेको थियो । सोमबार कारोबारमा आएका २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता सेयर एक अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँमा कारोबार भएको थियो ।

साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ४५.५९ अंक घटेर २०२०.२३ विन्दुमा झरेको थियो । मंगलबार कारोबारमा आएका २३४ कम्पनीको ३८ लाख ८७ हजार कित्ता सेयर एक अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँबराबरमा खरिद-बिक्री भएको थियो । बुधबार भने पछिल्लो एक हप्ताभन्दा बढी समयदेखि घट्दै आएको नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०.४४ विन्दुमा पुगेको थियो । बुधबार कारोबारमा आएका २३१ कम्पनीको ५० लाख पाँच हजार कित्ता सेयर एक अर्ब ६४ करोड तीन लाख ५६ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको थियो । बुधबार नेप्सेसँगै कारोबार रकममा समेत सुधार भएको थियो ।

बिहीबारदेखि बजार बढ्ने आकलन गरिए पनि एक दिन पनि टिक्न नपाई बिहीबार नेप्से परिसूचक १७.६४ अंकले घटेर २०६२.८० विन्दुमा झर्‍यो । बिहीबार कारोबारमा आएका २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता सेयर एक अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँबराबरमा कारोबार भएको थियो । बुधबारको तुलनामा बिहीबार कारोबार रकममा गिरावट आएको थियो ।

साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक १४.६४ प्रतिशतले घटेर २०४८.१६ विन्दुमा झरेको छ । शुक्रबार २२९ कम्पनीका ३० लाख ४५ हजार ८३८ कित्ता सेयर किनबेच भएर ८९ करोड ४१ लाख रुपैयाँबराबरको कारोबार भयो । बिहीबारको तुलनामा शुक्रबार कारोबार रकममा पनि गिरावट आयो ।

नेप्से परिसूचकमा ३० अंकभन्दा बढीले गिरावट आउँदा सातामा नेप्सेको कुल बजार पुँजीकरण ४१ अर्बभन्दा बढीले घटेको छ । गएको साताको अन्तिम कारोबार दिन २९ खर्ब ५९ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पुँजीकरण घटेर २९ खर्ब १७ अर्ब रुपैयाँमा खुम्चिएकाे छ ।