गृहपृष्ठ आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपाल र ओमान भिड्दै
आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपाल र ओमान भिड्दै
आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत अमेरिका भ्रमणमा रहेका नेपाली क्रिकेट टोलीले चिरपरिचित प्रतिद्वन्द्वी ओमानको सामना गर्दै छ ।
अमेरिकाको ह्युस्टनस्थित क्रिकेट स्टेडियममा हुने उक्त खेल नेपाली समयअनुसार आज राति ९ः१५ बजेदेखि सुरु हुने छ । नेपाललाई अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीयका सबै खेल जित्नै पर्ने दबाब रहेको छ । आगामी वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा सिधैँ स्थान बनाउनका लागि पनि नेपाललाई बाँकी खेल जित्नै पर्ने दबाब रहेको हो तर नेपाललाई सबै खेल जित्न त्यति सहज भने छैन ।
नेपालका पहिलो रोजाइका ओपनर आसिफ शेख र कुशल भुर्तेल चोटका कारण आजको खेलमा उपस्थित हुने छैनन् । उनीहरुको स्थानमा प्रशिक्षक पुबुदु दसानायाकेले ओपनर सुवास खकुरेल र सुनिल धमालालाई अमेरिका बोलाएका छन् । सुवास सन् २०२० र सुनिल सन् २०१७ पछि नेपाली टोलीमा फर्किएका हुन् ।
नेपालको तुलनामा ओमान बलियो टोली देखिन्छ । नेपाल र ओमनबीचको एकदिवसीय खेलमा हालसम्म चार खेल भएको छ । जसमध्ये नेपालले एक खेल जितेको छ भने बाँकी तीन खेल ओमानले जितेको छ ।
विश्वकप लिग दुईमा नेपालले यसअघि खेलको १२ खेलमा १२ अंक जोडेको छ । नेपालले छ खेलमा जित तथा छ खेलमा हार बेहोर्दै १२ अंक जोडेको हो । नेपाल अंक तालिकाको छैटौँ स्थानमा छ ।
यता ओमनले भने ४० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । ओमानले ३३ खेलमा १९ मा जित, १२ मा हार तथा एक खेल खेलमा बराबरीको नतिजा ल्याएको छ । लिगमा रहेका सात टोलीमध्ये सबैभन्दा कम खेल खेलेको पनि नेपाल नै हो ।
त्यसैगरी स्कटल्यान्ड दोस्रो स्थानमा छ भने संयुक्त अरब इमिरेट्स (यूएई) तेस्रो स्थानमा छ । अमेरिका चौथो स्थानमा रहँदा नामिबिया पाँचौँ स्थानमा छ । पपुवा न्युगिनी भने सातौँ स्थानमा छ ।
उक्त सिरिजअन्तर्गत नेपालले दोस्रो खेल यही जेठ २८ गते घरेलु टोली अमेरिकासँग खेल्ने छ भने तेस्रो खेल जेठ ३१ गते ओमानसँग पुनः खेल्ने छ । त्यसैगरी सिरिजको अन्तिम खेल असार १ गते नेपालले अमेरिकाससँग खेल्ने छ ।
प्रकाशित समय : २३:४५ बजे