सिसडोल ल्यान्डफिल साइट बन्द गरिने, काठमाडौंको फोहोर बन्चरेडाँडामा
वि.सं.२०७९ जेठ २५ बुधवार १४:१८
shares

काठमाडौं उपत्यकाको फोहोर फाल्न थालिएको नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट १७ वर्षपछि बन्द गर्ने प्रक्रिया सुरु भएको छ । मंगलबारदेखि सिसडोल ल्यान्डफिल साइटको ‘पोस्ट क्लोजर’ का लागि प्रक्रिया सुरु गरिएको हो । २०६२ जेठ २२ गतेदेखि सिसडोलमा २ वर्षका लागि भन्दै उपत्यकाको फोहोर विसर्जन गर्न थालिएको थियो ।
मंगलबार फोहोर लिएर गएका ट्रकलाई स्थानीय बासिन्दाले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेर सडक खुलाएको थियो । वर्षाका कारण बिग्रिएको बाटो निर्माण गरेर अपराह्न फोहोर विसर्जन गरिएको थियो । महानगरकी वातावरण शाखाकी प्रमुख सरिता राईले मंगलबार १ सय ५७ ट्रक (१२ सय मेट्रिक टन) फोहोर विसर्जन गरिएको जानकारी दिइन् ।
महानगर र सरकारले स्थानीयलाई दमन गरेर फोहोर जबर्जस्ती विसर्जन गरेको भन्दै स्थानीयतले विरोध जनाइरहेका छन् ।
बञ्चरेडाँडामा काठमाडौं र ललितपुर महानगरपालिकासहित १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुनेछ । बञ्चरेडाँडा ल्यान्डफिल निर्माणका लागि सरकारले १ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरेको थियो । यसका लागि २०७६ वैशाख २२ मा एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी लुम्बिनी कोसी एन्ड न्यौपाने जेभीलाई ठेक्का दिइएको थियो । तर निर्धारित समयभन्दा दुई वर्ष नाघिसक्दा पनि ल्यान्डफिल साइट पूर्णरूपमा निर्माण सम्पन्न भएको छैन ।
नुवाकोट र धादिङको सिमानामा रहेको बञ्चरेडाँडा सिसडोलभन्दा दुई किलोमिटर टाढा छ । नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट) को विज्ञ टोलीले मंगलबार सिसडोल क्षेत्रको रासायनिक र भौतिक वातावरण अध्ययन गरेको छ ।
टोलीले सिसडोल आसपासको लिचेड र गन्ध हटाउनका प्रयोग गर्न सकिने सम्भावित रसायनको अवस्थाको अध्ययन गरेको हो ।

























