गृहपृष्ठ विनियोजन विधेयक प्रस्ताव स्वीकृत

विनियोजन विधेयक प्रस्ताव स्वीकृत

विनियोजन विधेयक प्रस्ताव स्वीकृत फाइल तस्बिर ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकले विनियोजन विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माद्वारा 'विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्' भनी प्रस्तुत प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।

विधेयकको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद शेरबहादुर तामाङले विनियोजन विधेयकमाथि पुन:विचार गरिनुपर्ने आवश्यकता औँल्याउदै बजेटको सैद्धान्तिक पाटो र कार्यान्वयनको विषयमा स्पष्ट हुनुपर्ने धारणा राखे । उनले विनियोजनमा अझै नयाँ ढंगले सोच्न आग्रह गरे । सांसद देवप्रसाद गुरुङले विधेयक समग्रतामा राम्रो ढंगले आएकाले सफल कार्यान्वयनको अपेक्षा गरे ।

सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले अर्थ मन्त्रालय आफैँले बजेट नकाट्ने तर मन्त्रालय आफैँले खर्च गर्न नसकेपछि रकमान्तरण गर्नुपरेको स्पष्ट पारे । उनले विकास र राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनको सम्बन्धमा राष्ट्रिय सहमतिका साथ जानुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।

सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक, २०७९ को विभिन्न मन्त्रालय एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकमाथि हुने छलफल गर्न र सम्बन्धित मन्त्रीले उठेका प्रश्नको जवाफ दिन यही जेठ २३, २४, २५, २६ र २७ गतेको दिन तोकेका छन् ।

प्रकाशित समय : ०२:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु