गृहपृष्ठ क्लासिक टेक बन्यो तीव्र गतिमा बढ्ने इन्टरनेट सेवा प्रदायक
क्लासिक टेक बन्यो तीव्र गतिमा बढ्ने इन्टरनेट सेवा प्रदायक
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) को पछिल्लो एमआईएस प्रतिवेदनअनुसार क्लासिक टेक प्रालिले पछिल्लो एक वर्षमा नेपालका इन्टरनेट सेवा प्रदायक (आईएसपी) मध्ये सबैभन्दा उच्च ग्राहक वृद्धिदर हासिल गरेको छ ।
२०८२ असारदेखि २०८३ असारसम्मको अवधिमा क्लासिक टेकका ग्राहक संख्या ५६ प्रतिशतले बढेको हो । उक्त अवधिमा कम्पनीका ग्राहक १ लाख ८७ हजार १३७ बाट बढेर २ लाख ९२ हजार ९२२ पुगेका छन् ।
ग्राहक वृद्धिदरका आधारमा क्लासिक टेकले वर्ल्डलिंक, नेपाल टेलिकम, भायानेट, डिसहोम र सुबिसुसहितका प्रमुख आईएसपीलाई पछि पारेको कम्पनीले जनाएको छ । सो अवधिमा वाइफाइ नेपालको ग्राहक संख्या ४७ प्रतिशत, नेपाल टेलिकमको १९ प्रतिशत, भायानेटको १७ प्रतिशत, वर्ल्डलिंकको ७ प्रतिशत र डिसहोमको ३ प्रतिशतले बढेको छ । सुबिसुको ग्राहक संख्या भने १० प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ ।
क्लासिक टेक हाल ग्राहक संख्याका आधारमा नेपालमा पाँचौं ठूलो आईएसपी रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार कुल बजारमा यसको हिस्सा ८.२० प्रतिशत छ ।
कम्पनीले पछिल्लो ग्राहक वृद्धिलाई नेटवर्क विस्तार तथा प्रविधिमा गरिएको लगानीको परिणामका रूपमा व्याख्या गरेको छ । क्लासिक टेकले आवासीय प्याकेजमा सुरुवाती तहदेखि नै वाइफाइ ६ राउटरलाई मानकका रूपमा उपलब्ध गराउँदै आएको जनाएको छ । कम्पनीको नेटवर्क ७४ जिल्लामा विस्तार भएको छ ।
कर्पोरेट ग्राहकका लागि कम्पनीले डाटा सेन्टर, डार्क फाइबर, एल२/एल३ सहयोग तथा २४ घण्टा सञ्चालन हुने नेटवर्क अपरेसन सेन्टर (एनओसी) सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
‘यस्तो गतिमा वृद्धि हासिल गर्न पूर्वाधार र सहयोग क्षमतामा निरन्तर लगानी आवश्यक पर्छ,’ कम्पनीले भनेको छ, ‘हामी जिम्मेवारीपूर्वक विस्तार गर्दै नियामक प्रावधानसँग पूर्ण रूपमा तादात्म्यमा रहन प्रतिबद्ध छौं ।’
सन् २००९ मा स्थापना भएको क्लासिक टेकले फाइबर ब्रोडब्यान्ड, इन्टरप्राइज कनेक्टिभिटी र आईपीटीभी सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार यी सेवा देशका ७४ जिल्लामा विस्तार भएका छन् ।
कम्पनीको ग्राहक वृद्धिसम्बन्धी तथ्यांक नेपाल दूरसञ्चार प्राधिकरणको एमआईएस प्रतिवेदनमा आधारित रहेको जनाइएको छ ।
प्रकाशित समय : १३:५७ बजे


















