गृहपृष्ठ हवाई दुर्घटनाप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त
हवाई दुर्घटनाप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त
उपराष्ट्रपति नन्दबहादुर पुनले मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानसुरे भिरमा भएको हवाई दुर्घटनामा परी मानवीय क्षति भएकामा दुःख व्यक्त गरेका छन् । आज वक्तव्य जारी गर्दै उनले दुर्घटनाबाट भएको ठुलो मानवीय क्षतिले आफू मर्माहत भएको बताए ।
उपराष्ट्रपति पुनले दुर्घटनामा परी ज्यान गुमाएका चालक दलका सदस्य एवम् यात्रुमा श्रद्धाञ्जली अर्पण र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । हवाई दुर्घटनाबाट राष्ट्रलाई अपूरणीय क्षति पुर्याएको उल्लेख गर्दै उनले दुर्घटनालाई न्यूनीकरण गरेर हवाई यात्रालाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराए ।
‘नेपालमा पटक–पटक हुने यस्ता दुर्घटनाले हवाई यात्रा सुरक्षामाथि प्रश्न उब्जाएको छ,’ उपराष्ट्रपति पुनले भने, ‘मुस्ताङको दुर्घटनाको कारणबारे सत्यतथ्य पत्ता लगाउन र आगामी दिनमा यस प्रकारको दुर्घटना हुन नदिन नेपाल सरकारद्वारा गठित दुर्घटना जाँच आयोगले प्रभावकारी काम गर्ने विश्वास लिएको छु ।’
पोखराबाट आइतबार बिहान मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको ९एन-एइटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२, कोबाङको सानुसरे भिरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परी २२ जनाको ज्यान गएको थियो ।
प्रकाशित समय : ००:३१ बजे



















