गृहपृष्ठ उत्साहजनक विकास भएको छ : मुख्यमन्त्री राई

उत्साहजनक विकास भएको छ : मुख्यमन्त्री राई

उत्साहजनक विकास भएको छ : मुख्यमन्त्री राई

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले यस प्रदेशमा विकासको काम उत्साहजनक भएको बताएका छन् । 

आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०७९÷८० को बजेट तर्जुमा छलफल तथा अन्तरक्रियामा उठेका प्रश्नहरूको जबाफ दिँदै उनले महत्वपूर्ण योजनालाई सरकारको सिद्धान्त, प्राथमिकता एवं नीति तथा कार्यक्रममा समावेश हुने विश्वास दिलाए ।

मुख्यमन्त्री राईले बजेट, नीति तथा कार्यक्रम बनाउने सरकार र कर्मचारीको दायित्व मात्र नभएर स्थानीय तहको जनप्रतिनिधि एवं सांसद्को जिम्मेवारी भएको उल्लेख गर्दै जनताबाट आउने विकासका योजना नै व्यवहारिक हुने बताए । उनले योजना छनोटमा जनता र सरोकारवालाको रुचाई र रोजाई हुनुपर्ने भन्दै सरकार घाटा बजेट बनाउने दिशामा नरहेको स्पष्ट पारे ।

घाटा बजेट बनाएर आज श्रीलंकामा आर्थिक संकट परेको भन्दै मुख्यमन्त्री राईले बजेट निर्माणअघि अझ सरोकारवालसँग घनिभूत छलफल गर्ने बताए । अधिकार र बजेटका लागि प्रदेश सरकारले संघीय सरकारसँग लडाइँ गर्ने विचार राख्दै उनले भने, ‘प्रदेशमा सिंचाइ, खानेपानी, पर्यटनजस्ता क्षेत्रमा प्रगति हासिल गरेको छ ।’ उनले गलत बाटोबाट योजना नछिर्ने र जनप्रतिनिधिलाई अझ ठोस ढंगले योजना ल्याउन सुझाव दिए ।

संघको निजामति कर्मचारी ऐन नआएका कारण प्रदेश सरकारले कर्मचारी भर्ना गर्न समस्या रहेको स्पष्ट पार्दै मुख्यमन्त्री राईले सरकारले बहुवर्षीय र नयाँ योजनामा बजेट विनियोजन नगर्ने बताए । प्रदेशसभा सदस्य वशन्तीदेवी यादव, शिवनारायण गनगाईं, लिलाबल्लभ अधिकारी आम नागरिकले अनुभूति गर्ने किसिमको बजेट भएमा मात्र सरकारप्रति जनताको विश्वास बढ्ने विचार व्यक्त गरे ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर प्रदेशको राजधानी भए पनि पूर्वाधार विकासमा पछि परेको बताउँदै अबको पाँच वर्षमा विराटनगरले विकासमा छलाङ लगाउने विश्वास दिलाए ।

प्रमुख सचिव डा.रामप्रसाद घिमिरेले प्राकृति सम्पदा र संस्कृतिले परिपूर्ण यो प्रदेशमा प्रगतिका प्रचुर सम्भावना र अवसर छन् भने । आर्थिक मामिला तथा योजना सचिव सुमन दाहालले प्रदेशको वास्तविकतामा रहेर सरकारले बजेट बनाइरहेको धारणा राखे । कार्यक्रममा मोरङका गाउँपालिका र नगरपालिकाका प्रमुख एवं उपप्रमुखले विकासका विविध पक्षमा चर्चा गरे ।

प्रकाशित समय : ००:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु