nmb bank

गृहपृष्ठ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले देखाएरै मतदान गरे, जरिवाना हुन सक्ने

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले देखाएरै मतदान गरे, जरिवाना हुन सक्ने

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले देखाएरै मतदान गरे, जरिवाना हुन सक्ने

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले मत संकेत सार्वजनिक गरेका छन् । शुक्रबार बिहान साढे ८ बजे गोरखाको पालुङटार नगरपालिका-१ खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका उनले देखाएरै छाप लगाएका हुन् ।

भट्टराईले मतदान गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुक र ट्विटरमार्फत सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको तस्बिरमा मत संकेत प्रस्ट देखिएको छ । उनले मतदानपछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘गोरखा पानपास्थित अन्नपूर्ण माविको बुथमा बिहान ८:२५ बजे मतदान गरेर लोकतान्त्रिक अधिकार र कर्तव्य निर्वाह गरियो । सबैले मतदान गरौँ, स्थानीय लोकतन्त्र सुदृढ गरौँ ।’

भट्टराईले मेयरमा जनता समाजवादी पार्टीको चुनाव चिह्न छातामा मत संकेत गरेको प्रष्ट देखिएको छ । त्यस्तै, उपमेयरमा स्वस्तिक छाप लगाएको देखिएको छैन भने बाँकी पदमा पनि जसपाका उम्मेदवारलाई नै मतदान गरेको देखिएको छ ।

तर मत संकेत सार्वजनिक गर्न नहुने कानुनी व्यवस्था रहेको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ९ मा मत संकेत सार्वजनिक गर्न नहुने व्यवस्था छ । त्यसो गरिएमा मतदान अधिकृतले जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ ।

'कसैले पनि मतपत्रमा मत संकेत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत संकेत स्थलमा मत संकेत नगरी त्यसभन्दा बाहिर गई मत संकेत गर्न वा मत संकेत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न हुँदैन,' ऐनमा व्यवस्था गरिएको छ । त्यसो गरिएको अवस्थामा के भन्नेबारे उल्लेख छ, 'उपदफा (१)विपरीतको कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ ।'

प्रकाशित समय : १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु