चार दिनपछि घट्याे नेप्से
वि.सं.२०७९ वैशाख २९ बिहीवार २१:५९
shares
अघिल्लो चार कारोबार दिन कुल १३० अंकले बढेको सेयर बजारमा बिहीबार भने गिरावट आएको छ । उतार-चढावबीच आज सेयर बजार परिसूचक नेप्से १८.६४ ले झरेर २३५०.४२ विन्दुमा आइपुग्यो ।
सुरुवाती समयमा नेप्से बढेर २३८८ विन्दु पार गरे पनि कारोबार अन्तिम समयमा दोहोरो अंकले घट्यो । नेप्से घटे पनि कारोबार भने बढेको छ । यस दिन २२८ कम्पनीको ५२ लाख २७ हजार कित्ता सेयर दुई अर्ब ३२ करोड ८४ लाख रुपैयाँ बराबरमा खरिद-बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज १५१ कम्पनीको सेयर मूल्य घट्दा ३४ कम्पनीको बढ्यो भने नौ कम्पनीको स्थिर रह्यो ।
आज सूर्योदय वोमी लघुवित्तका सेयरधनीले धेरै गुमाएका छन् । कम्पनीको सेयर १० प्रतिशतले घटेको हो । त्यस्तै प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ७.६३ प्रतिशत, युनियन लाइफ इन्स्योरेन्सको ६.९६ प्रतिशत, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ५.८३ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको ५.१३ प्रतिशतले सेयर मूल्य घटेको छ ।
त्यसैगरी आज जाल्पा सामुदायिक लघुवित्तका सेयरधनीले १० प्रतिशत कमाएका छन् । त्यसपछि तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ६.२० प्रतिशत, युनियन हाइड्रोपावरका लगानीकर्ताले ५.२२ प्रतिशत, शिवम् सिमेन्टका लगानीकर्ताले ५.१७ प्रतिशत र बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले ३.९७ प्रतिशत आम्दानी गरेका छन् ।


























