global ime bank Long Banner Ad

गृहपृष्ठ उम्मेदवारको पक्ष विपक्षमा समाचार नदिन ध्यानाकर्षण

उम्मेदवारको पक्ष विपक्षमा समाचार नदिन ध्यानाकर्षण

उम्मेदवारको पक्ष विपक्षमा समाचार नदिन ध्यानाकर्षण

निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ का सन्दर्भमा निर्वाचन आचारसंहिता, २०७८ को व्यवस्थाविपरीत विभिन्न दल र उम्मेदवारका पक्ष वा विपक्षमा सामग्री प्रकाशन र प्रसारण नगर्न सञ्चार माध्यमलाई पुनःआग्रह गरेको छ । 

आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत र विश्वसनीय तुल्याउन समाजका सबै पक्षको योगदान हुन आवश्यक रहेकाले यो वा त्यो पक्षको जित वा हार निश्चित भन्ने आशयले पूर्वानुमानयुक्त सामग्री प्रकाशन र प्रसारण नगर्न आग्रह गरेको हो । 

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचन प्रचारप्रसारका क्रममा रहेका केही दल र उम्मेदवारलाई मात्रै स्थान दिइ समान अवसरबाट वञ्चित गर्ने, अन्तर्वार्ता लिने क्रममा मुख्य उम्मेदवार भनेर आफूखुसी कसैलाई बढावा गर्ने वा कोही उम्मेदवारलाई कमजोर उम्मेदवार भनेर चित्रण गर्ने, कतिपय सञ्चारमाध्यमले मतदताहरुसँग अन्तर्वार्ता लिने क्रममा ‘कसलाई मतदान गर्नुहुन्छ ?’ भनी उत्तर दिन बाध्य पार्ने तथा कतिपय अनलाइन सञ्चारमाध्यममा उम्मेदवारहरूबारे पक्ष वा विपक्षमा तथ्यहीन र आचारसंहिताविपरीतका समाचार सम्प्रेषण गराइ त्यसलाई सामाजिक सञ्जालका विभिन्न खाता प्रयोग गरी बुष्ट (स्पोन्सर) गर्ने जस्ता क्रियाकपला नगर्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका दृष्टिले सबै उम्मेदवार जनताका अगाडि समान हैसियत प्राप्त हुनुहुन्छ र कुनै पनि मतदाताको मतदान गर्न पाउने गोपनीयता र स्वतन्त्रताको हक विरुद्धको कार्य कहीँ कतैबाट हुन हुँदैन भन्नेमा आयोगको दृढ धारणा रहेको छ ।’

निर्वाचन आचारसंहिता, २०७८ को परिच्छेद ७ को दफा २२ मा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणको व्यवस्थाहरू गरिएको छ । सो दफाको (क) मा ‘कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने’ उल्लेख गरिएको छ भने परिच्छेद ४ को दफा १४ मा सञ्चारमाध्यमको प्रयोग गर्दा राजनीतिक दल, उम्मेदवार र भ्रातृ संगठनले पालना गर्नुपर्ने आचरणका व्यवस्थाहरु गरिएको सन्दर्भमा आचारसंहिताविपरीत सामग्री प्रकाशन र प्रसारण गर्ने केही सञ्चारमाध्यमविरुद्ध परेको उजुरी र जानकारीका आधारमा आयोगले स्पष्टीकरण जबाफ माग गरेको छ भने सञ्चारमाध्यममा आचारसंहिताको पालनाबारे प्रेस काउन्सिल नेपालको सहयोगमा नियमित अगुगमन भइरहेको छ । 

निर्वाचन आचारसंहिता, २०७८ को प्रतिकूल हुने गरी कुनै पनि सामग्री प्रकाशन र प्रसारण नगर्न आयोग सबै सञ्चारमाध्यम र पत्रकारलाई आयोगले पुनः आग्रह गरेको छ । आयोगले आचारसंहिताविपरीत सामग्री दिने कुनै पनि सञ्चारमाध्यमबारे जुनसुकै माध्यमबाट आयोगमा उजुरी दिन सकिने जनाएको छ ।

प्रकाशित समय : २३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु