गृहपृष्ठ आइजीपी नियुक्ति विवाद : सर्वोच्चले दिएन अन्तरिम आदेश
आइजीपी नियुक्ति विवाद : सर्वोच्चले दिएन अन्तरिम आदेश

सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्ति विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
बुधबारदेखि न्यायाधीश माथेमाको इजलासमा दुई पक्षीय बहस भएको थियो । सरकारले तेस्रो नम्बरमा रहेका एआइजी धिरजप्रताप सिंहलाई प्रहरी प्रमुख बनाएपछि एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थियो । बढुवाका लागि आफू योग्य भएको तर सरकारले आफूभन्दा कनिष्ठलाई प्रहरी ऐन र नियमावलीको व्यवस्थाविपरीत बढुवा गरेको पाेखरेलकाे जिकिर थियाे ।
सरकारका तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खाती सहितको टोलीले 'सरिक हुन पाउँ' भनी निवेदन दिँदै सुरुकै दिन बहस गरेका थिए । निवेदकहरुको बहसपछि उनीहरुले अन्तरिम आदेश जारी गर्न नहुने बहस गरेका थिए । पहिलो दिन धेरै कानुन व्यवसायी भएपछि बहस बाँकी रहेकाले हेर्दा हेर्दैमा राखिएको थियो ।
बिहीबार निवेदक पोखरेलका पक्षबाट जवाफी बहस भएको थियो । त्यस क्रममा पोखरेल आफैंले पनि आफ्नो कुरा राखेका थिए ।
प्रकाशित समय : २१:५९ बजे