संस्कृति इन्टरनेशनल स्कुलले सिकाइ सुधारसम्बन्धी गोष्ठी गर्दै
वि.सं.२०७९ वैशाख २२ बिहीवार १८:१२
shares

संस्कृति इन्टरनेशनल स्कुलले अन्तर्राष्ट्रिय पाठ्यक्रम संघ (आइसीए) सँगको साझेदारीमा शैक्षिक गोष्ठी आयोजना गर्ने भएको छ । ठमेलको अलफ्ट होटलमा वैशाख २४ र २५ गते गाेष्ठी आयाेजना हुने स्कुलले जनाएकाे छ ।
साे गोष्ठी फिल्डवर्क एजुकेशन युकेद्वारा अक्टोबर २०२२ मा गरिने अन्तर्राष्ट्रिय पाठ्यक्रम सम्मेलनको एक हिस्सा हो । कार्यक्रमले किन्डरगार्टन, प्राथमिक र निम्न माध्यमिक तहको पाठ्यक्रमलाई समेट्ने स्कुलले जानकारी दिएको छ । स्कुलका अनुसार अन्तर्राष्ट्रिय पाठ्यक्रमहरूको प्रभावकारी कार्यान्वयनले शिक्षा क्षेत्रको गुणस्तरमा कसरी सकारात्मक प्रभाव पार्न सक्छ भन्नेबारे बुझ्न चाहने शिक्षक, प्रशासक, लगानीकर्ता र सम्बन्धित सबैको लागि यो गोष्ठी फलदायी हुने छ ।
‘हालका वर्षहरूमा बेलायतको फिल्डवर्क एजुकेशनले प्रदान गरेको पाठ्यक्रम नेपालका विभिन्न विद्यालयले अपनाएका छन् । किनकि यसका पाठ्यक्रमहरु विषयगत र रचनात्मक हुने गर्दछन् । जसले गर्दा हामीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै पाठ्यक्रम मिलाएर विद्यालयको विषयवस्तु फराकिलो बनाउन र चौतर्फी शैक्षिक अनुभव प्रदान गर्न मद्दत गर्छ,’ संस्कृति इन्टरनेशनल स्कूलकी निर्देशक दिप्ती आचार्यले भनिन् ।
यस्तै संस्कृति इन्टरनेशनल स्कूलका अध्यक्ष रञ्जित आचार्यले कार्यशालामा अन्तर्राष्ट्रिय पाठ्यक्रममा काम गरिरहेका शिक्षकहरूको अनुभव बाँड्दै विभिन्न कक्षागत अभ्यासहरू गरिने बताए । अन्तर्राष्ट्रिय पाठ्यक्रमको कार्यान्वयनको प्रभावकारिताको बारेमा इच्छुक सम्पूर्ण विद्यालयहरू यस गोष्ठीमा सहभागी हुन सक्ने विद्यालयले जनाएको छ ।
























