गृहपृष्ठ रुसी इन्धन रोक्न जुटेन सहमति
रुसी इन्धन रोक्न जुटेन सहमति
युक्रेनमाथि आक्रमण सुरु गरेपछि रुसविरुद्ध एक भएको युरोपेली संघ (ईयू) रुसी इन्धन आपूर्ति रोक्ने विषयमा भने विभाजित देखिएको छ । जर्मनीका अर्थमन्त्री रोबर्ट हबेकले रुसी ग्यास र तेल आपूर्ति तत्काल बन्द गर्न नसकिने जनाएका छन् ।
उनले तत्काल आपूर्ति बन्द गर्न सम्भव नरहेको तर चरणबद्ध रूपमा आपूर्ति कम गर्दै लग्ने विषयमा सहमति जनाउन सकिने बताएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । सन् २०२० मा रुसबाट सबैभन्दा बढी जर्मनीले इन्धन आयात गरेको थियो । उक्त वर्ष जर्मनीले ४२.६ क्युबिक मिटर ग्यास आयात गरेको थियो ।
हंगेरीले पनि तत्काल रुसी इन्धन आयातमा रोक लगाउन नसकिने जनाएको छ । रुसी इन्धन खपत गर्ने देशको सूचीमा हंगेरी छैटौं स्थानमा छ । उसले सन् २०२० मा ११.६ क्युबिक मिटर ग्यास आयात गरेको बीबीसीले उल्लेख गरेको छ । सन् २०१९ को तथ्यांकअनुसार युरोपेली संघमा खपत हुने जम्मा ग्यासमध्ये ४१ प्रतिशत रुसबाट आयात गरिएको थियो ।
युरोपेली आयोगले रुसी इन्धन रोक्ने विषयमा भने सदस्य राष्ट्रहरूसँग छलफल जारी रहेको जनाएको छ । पोल्यान्डले भने रुसी तेलको आयात रोक्नुपर्ने विषयमा प्रस्ट अडान राखेको बीबीसीले जनाएको छ ।
प्रकाशित समय : १४:२२ बजे


















