गृहपृष्ठ स्थानीय निर्वाचन : भोट माग्न घरदैलो अभियानमा उम्मेद्वार
स्थानीय निर्वाचन : भोट माग्न घरदैलो अभियानमा उम्मेद्वार
आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा उम्मेद्वारले घरदैलो अभियान सुरु गरेका छन् । राजनीतिक दल र स्वतन्त्ररुपमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदमा उम्मेद्वारी दिएसँगै यहाँ भोट माग्न घरदैलो अभियान सुरु भएको हाे ।
यहाँको भीमदत्त नगरपालिकामा नेकपा (एमाले)बाट नगरप्रमुखका उम्मेद्वार महेशप्रसाद पन्त र उपप्रमुखका उम्मेद्वार भुवन केसीले पार्टीका नेतासहित वडा वडामा घरदैलो अभियान सुरु गरिसकेका छन् । त्यसैगरी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बाट नगर प्रमुखका उम्मेद्वार राजेन्द्र पाण्डेय र उपप्रमुखका उम्मेद्वार कृष्णदत्त जोशीले पनि टोलटोलमा पुगेर भोट मागिरहेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसले भीमदत्त नगरपालिका-१ रौटेला मन्दिर छेउबाट घरदैलो कार्यक्रम शुभारम्भ गर्दैछ । 'आज बिहानदेखि सुरु हुने घरदैलो अभियानमा नगरप्रमुख, उपप्रमुखका साथै केन्द्रीय सदस्यद्वय रमेश लेखक र यज्ञराज जोशीसहितको टोली सहभागी हुँदैछन्', कांग्रेस भीमदत्त नगरसचिव राहुल भट्टले भने, 'यहाँ वडा वडामा सम्पर्क कार्यालय र चुनावी गतिविधि सुरु भइसकेको छ ।'
उनले घरदैलो तथा चुनावी कार्यक्रममा केन्द्रीय नेताको पनि उपस्थिति रहने बताए । यहाँका अन्य स्थानीय तहमा पनि नेताहरु घरदैलो अभियानमा जुटेका छन् । बेलौरी र पुर्नवास नगरपालिकामा पनि घरदैलो अभियान सुरु भइसकेको छ ।
एमाले बेलौरीका नगर उपाध्यक्ष महेश्वरी खत्रीले उम्मेद्वारसहित आफूहरु घरदैलो अभियानमा खटेको जानकारी दिइन् । 'पहिलोपटक बेलौरीमा हामीले महिलालाई नगर प्रमुखको उम्मेद्वार बनाएका छौँ', उनले भनिन्, 'घरदैलो अभियान पनि सुरु गरिसकेका छौँ । चुनावी एजेण्डा लिएर घरदैलो अभियानमा लाग्नुका साथै आवश्यक रणनीति बनाउन दिनहुँजसो पार्टीमा छलफल गरिरहेका छाैँ ।'
शुक्लाफाँटा नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीका नगरप्रमुख उम्मेद्वार नवराज ऐरले दुई दिनदेखि चुनावी घरदैलो अभियान थालेका छन् । 'शुक्रबारदेखि निर्वाचन प्रचारका ठूला कार्यक्रम सुरु हुन्छन् ।' उनले भने, 'अहिले मतदातासित भेटघाट कार्यक्रम चलिरहेको छ ।'
नौवटै पालिकामा कञ्चनपुरमा नगरप्रमुख र पालिका अध्यक्षका लागि ७३ जनाको उम्मेद्वारी परेको छ । भीमदत्तमा प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरी १४ जनाले नगरप्रमुख पदमा उम्मेद्वारी दिएका छन् ।
दोधारा चाँदनी नगरपालिकामा आठ जनाले र बेदकोट नगरपालिकामा प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरेर ११ जनाले नगरप्रमुखमा उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी शुक्लाफाँटा नगरपालिकामा नगरप्रमुखका लागि आठ जनाको उम्मेद्वारी परेको छ । कृष्णपुर नगरपालिकामा सात जनाले नगरप्रमुखमा उम्मेद्वारी दिएका छन् । बेलौरी नगरपालिकामा ६ तथा पुर्नबास नगरपालिकामा सात जनाले नगरप्रमुखमा उम्मेद्वारी दिएका छन् ।
लालझाडी गाउँपालिकामा ६ तथा बेल्डाँडी गाउँपालिकामा ६ जनाले अध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् । निर्वाचनका लागि कञ्चनपुरमा ३४० मतदान केन्द्र राखिएका छन् भने यहाँको कूल मतदाताको संख्या दुई लाख ९५ हजार ३५४ रहेको छ ।
प्रकाशित समय : १५:५७ बजे


















