nmb bank

गृहपृष्ठ कृत्रिम हातमार्फत समाजमा खुशी छर्दै ‘ई-नेबल नेपाल’

कृत्रिम हातमार्फत समाजमा खुशी छर्दै ‘ई-नेबल नेपाल’

कृत्रिम हातमार्फत समाजमा खुशी छर्दै ‘ई-नेबल नेपाल’

एउटा संस्थाकाे नाम हो 'ई-नेबल नेपाल' । हालसम्म यस संस्थाले विभिन्न जिल्लाका करिब एक सय जनालाई चलायमान कृत्रिम हात वितरण गरिसकेको छ । याे संस्था 'ई-नेबल ह्यान्ड इन्टरनेशनल'को नेपाल च्याप्टर हाे । ई-नेबल नेपालको कार्यालय हाल मैतीदेवीस्थित सेतोपुलनजिक छ ।

संस्थाका बोर्ड सचिव एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश राजभण्डारीका अनुसार ५ देखि १५ वर्ष उमेरकालाई यस्तो हात निशुल्क वितरण गर्ने गरिएको छ । विपन्न परिवारको भएर आवातजावत र काठमाडौंमा खाने-बस्नेसमेत संस्थाले नै व्यवस्था गर्छ । जन्मजात हात नभएका वा दुर्घटनावश हात गुमाएकाहरु यसबाट लाभान्वित भएका छन् । कृत्रिम हातमार्फत समाजमा खुशी बाँडिरहेकाे यस संस्था २०७४ सालमा स्थापना भएकाे हाे ।

यस्तो हात लगाउनका लागि कुहिनाभन्दा अगाडि २ देखि ३ इञ्चसम्म हुनु आवश्यक छ । यसभन्दा बढी अर्थात पूरै नाडीसम्मै भए कृत्रिम हात चलाउन अझ सहज र प्रभावकारी हुने सीइओ राजभण्डारीको भनाइ छ । खर्चको हिसाबले खासै महँगो नभए पनि यसको उपयोगिता र उपलब्धता महत्वपूर्ण भएको सीईओ राजभण्डारीको भनाइ छ । उनका अनुसार यस्तो हातको सहायताले सामान उचाल्न मात्र नभएर साइकल चलाउन र पौडी खेल्नसमेत मिल्छ । ‘अपवादमा बाहेक अधिकांशमा यस्तो हात प्रभावकारी भएको छ । धरै हदसम्म सहयोगी भएको पाइएको छ,’ सीईओ राजभण्डारीले भने । उनका अनुसार कृत्रिम हात बनाउने प्राविधिकको भने अभाव छ । स्थापनाकालमा क्यानडाबाट प्राविधिक झिकाएर संस्थाले तीन जनालाई तालिम दिएको थियो । ‘त्यतिबेला तालिम लिएकामध्ये एक जना विदेश जानुभयो । हाल दुई जना कार्यरत हुनुहुन्छ,’ उनले भने ।

कृत्रिम हात बनाउने मेसिन ।

संस्थाले पुन: तालिम सञ्चालन गर्ने तयारी गरिरहेको छ । कम्प्युटर र प्राविधिक क्षेत्रमा रुचि तथा दख्खल भएका र यसैसम्बन्धी अध्ययन गरेकाहरुलाई छनोट गरेर तालिम दिने तयारी भइरहेको सीईओ राजभण्डारीले बताए । यसको सैद्धान्तिक तालिम एक हप्ताको र प्रयोगात्मक तालिम एक महिनाको हुनेगर्छ । यस्तो प्रविधिमा कृत्रिम हात बनाउने संस्था नेपालमा ई-नेबल नेपालमात्र भएको संस्थाको दाबी छ ।

कसरी बनाइन्छ ?

एउटा हात तयार बनाउन दुई हप्ता समय र २० हजार रुपैयाँ खर्च लाग्छ । यस्तो हात फिलामेन्ट नामको कच्चा पदार्थबाट निर्माण गरिन्छ । एलसी खोल्न नपाइने हालको प्रावधानका कारण यसको आपूर्ति पनि असहज भइरहेको संस्थाले जनाएको छ । एक केजी फिलामेन्टबाट ३ वटा हात बनाउन सकिने संस्थाका प्राविधिक रोहित राजभण्डारीले बताए । उनका अनुसार बजारमा अन्य रङको फिलामेन्ट पाइए पनि मासुसँग मिल्ने रङको पाउन भने समस्या भइरहेको छ ।

यस्तो हात बनाउन सर्वप्रथम सम्बन्धित व्यक्तिको हातको नाप लिइन्छ । त्यसपछि यसकै लागि निर्मित सफ्टवेयरमा हातको लम्बाइ, गोलाइ लगायतको नाप राखेर थ्रीडी प्रविधिमार्फत हातको डिजाइन गरिन्छ । त्यस डिजाइनलाई मेमोरी कार्डमा हालेर हात बनाउने मेसिनमा राखिन्छ । ‘मेसिनमा सो डिजाइन खोलेर कमाण्ड दिइसकेपछि संगै राखेको फिलामेन्ट पग्लिएर डिजाइनअनुसारको हातका विभिन्न भाग बनाइन्छ,’ प्राविधिक राजभण्डारीले बताए । उनका अनुसार यसरी बनेको भागहरुलाई जोड्ने र औंला हुँदै नाडीसम्म डोरी राखेपछि चलायमान कृत्रिम हात तयार हुन्छ । एकपटक लगाइएको यस्तो हात उमेर बढ्दै जाँदा थप ठुलो आकारको अर्को हात फेर्नुपर्छ ।

आर्थिक व्यवस्थापन

कृत्रिम हातका माग बढ्ने क्रममा रहे पनि संस्थाका लागि बजेट भने पर्याप्त छैन । सुरुआती दिनमा विभिन्न संस्थालाई गुहारेर केही रकम जुटाउने गरेकोमा पछिल्लो दुई वर्ष भने नेपाल सरकारबाट समेत केही राहत मिलेको सीईओ राजभण्डारीले जानकारी दिए । उनका अनुसार चालू र गत आर्थिक वर्षमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले काठमाडौं महानगरपालिकामार्फत १०/१० लाख रुपैयाँ उपलब्ध गराएको छ । यसका साथै चालू आवका लागि कृषि विकास बैंक ४ र सांग्रिला डेभलपमेन्ट विकास बैंकले २ लाख रुपैयाँ उपलब्ध गराएको छ । हालसम्म संस्थालाई नोबेल कलेज, सेञ्चुरी बैंक, युनाइटेड फाइनान्स, देव विकास बैंक, एनएमबी बैंक, कर्मचारी सञ्चय कोष, सिटिजन्स बैंक, प्रसादी एकेडेमीले सहयोग गरेको छ । भानुप्रसाद थपलिया, इञ्जिनियरद्वय ऋषि श्रेष्ठ र प्रमोद श्रेष्ठबाट पनि सहयोग प्राप्त भएको संस्थाको अभिलेखमा उल्लेख छ ।

तयार हुँदै गरेका हातहरू ।

सुरुवातीका दिनमा आर्थिक व्यवस्थापन गर्न निकै असहज भएको सीईओ राजभण्डारीले बताए । ‘सुरुका दिनमा धेरै नै गाह्रो थियो । अहिले भने केही राहत मिलेको छ । तर, प्रचारप्रसार बढ्दै जाँदा कृत्रिम हातको माग पनि बढ्दो क्रममा छ । यसको अनुपातमा थप बजेट व्यवस्थापन गर्नुपर्ने चुनौती पनि बढेको छ,’ उनले भने । अहिले पनि ७ जनाको लागि हात बन्ने क्रममा रहेको तर कच्चा पदार्थको अभावले समस्या भइरहेको उनले बताए । यसरी हात फेर्नुपरे वा बिग्रिएर मर्मत गनु परे संस्थाले निशुल्क गरिदिन्छ ।

यसरी जन्मियो ई-नेबल नेपाल

हाल संस्थाका महासचिव रहेका सुरेन्द्र श्रेष्ठ क्यानडा गएका थिए । उनले एक दिन त्यहाँको एउटा पार्कमा एकजना बच्चा कृत्रिम हातकै सहाराले साइकल चलाइरहेकाे देखे । उनले यसबारे चासो राखे । त्यसपछि उनले त्यहाँ रहेर इञ्जिनियरिङ पेसामा आवद्ध एकजना आफन्तमार्फत कृत्रिम हात बनाउने त्यस प्रविधिबारे जानकारी लिए । ई-नेबल ह्यान्ड इन्टरनेशनलको सम्पर्कमा पुगेपछि श्रेष्ठकै पहलमा नेपालमा पनि संस्था स्थापना भएको सीईओ राजभण्डारीले जानकारी दिए ।

कृत्रिम हात लगाएकी बालिका अभ्यास गर्दै ।

प्रकाशित समय : २१:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु