गृहपृष्ठ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरको पहिलो अन्तर्राष्ट्रिय उडान हुने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरको पहिलो अन्तर्राष्ट्रिय उडान हुने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरको पहिलो अन्तर्राष्ट्रिय उडान हुने

बिहीबारदेखि विधिवत्रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले पहिलाे पटक उडान गर्ने भएकाे छ । बुद्धपूर्णिमाकै दिन २७८ यात्रु क्षमताकाे जजिरा एयरकाे न्यारोबडी जहाज कुवेतबाट गौतमबुद्ध विमानस्थलमा अवतरण गर्नेछ ।

त्यसको भोलिपल्ट बिहान २ः३० बजेको समयमा नेपालबाट ३० यात्रुभन्दा बढी बोकी कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । त्यसपछि साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) नियमित उडान भर्ने गरी प्रक्रिया अगाडि बढाइसकेको र आफ्नो ट्राभलले यताबाट जाने ३० यात्रुको बुकिङ गरिसकेको उद्योग वाणिज्य संघ सिद्धार्थनगरको पर्यटन विभाग प्रमुख सञ्जय बजिमयले जानकारी दिए ।

पुरानो विमानस्थलमा अहिले दैनिक २४ जहाजले उडान भर्छन् । एउटा मात्र रनवे कारण ट्राफिक जाम हुनेगरेकाले जाम व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विमानको उडानलाई रातिको समयमा राखिएको उक्त अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताए । उनका अनुसार जजिराको उडान हुने खबरले व्यवसायी उत्साहित देखिएका छन् ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सानाठूला गरी दैनिक पाँच अन्तर्राष्ट्रिय उडान एकैचोटी भर्नसक्ने तीन हजार ५०० मिटर लामो धावनमार्ग भएकाले उडान अवतरणमा सहज हुने अपेक्षा लिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीपकुमार अधिकारीले बताए । उनले भने, 'धावनमार्गमा लामो र साना ठूला गरी दैनिक पाँच वटा अन्तर्राष्ट्रिय उडान भर्न सकिने भएकाले यहाँ सहज हुने छ ।'

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि चाँडो पहल गर्न निर्देशन दिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबारदेखि नयाँ निर्माण गरिएको उक्त विमानस्थल विधिवत्रुपमा सञ्चालन गरेको थियो ।

उक्त विमानस्थलमा अब ठूला जहाजले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तथा अवतरण गरे यहाँ पर्यटक भित्रिन सक्ने भन्दै स्थानीयमा खुसियाली छाएको बताइएको छ । उक्त विमानस्थल सञ्चालन भएसँगै काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एअर ट्राफिक पनि घट्ने अनुमान गरिएको छ ।

उक्त विमानस्थल सञ्चालन भएसँगै अब अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

प्रकाशित समय : १६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु