गृहपृष्ठ अग्रगमन र प्रतिगमनका पक्षहरू ध्रुवीकृत भए : प्रचण्ड
अग्रगमन र प्रतिगमनका पक्षहरू ध्रुवीकृत भए : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय निर्वाचनमा अग्रगमन र प्रतिगमनका पक्षहरू ध्रुवीकृत भएको बताएका छन् । सुदूरपश्चिम प्रदेश पुगेका अध्यक्ष प्रचण्डले नेकपा एमालेसँग तालमेलमा जोडिएका दलहरु महाराजसँग सम्बन्धित दल भनेर कटाक्ष गरे ।
‘एकतातिर अग्रगमनका पक्षधरहरू एक जुट भएका छन् भने अर्कोतिर प्रतिगमनका समर्थकहरू छन्’, उनले भने, ‘हिजो राजा महाराजसँग सम्बन्धित शक्तिहरूदेखि अरू कुनै दलाल शक्तिहरू कहिले आठ दल-९ दल भनेर जुटेका छन् । अग्रगमनका पक्षधरहरू र यो प्रगतिलाई उल्टाउने कोसिस गर्नेहरुबीच धुव्रीकरण देखिएको छ । त्यसैले यो निर्वाचनलाई परिवर्तन जोगाउने आन्दोलनको अंगकै रूपमा लिनुपर्छ ।’
सत्तारुढ गठबन्धनले ६ वटा महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुङ्ग्याएपछि गठबन्धनभित्र असन्तुष्टि देखिएकोबारे पत्रकारहरूले गरेको प्रश्नमा अध्यक्ष प्रचण्डले असन्तुष्टिका स्वरहरू स्वाभाविक भएको र यो केही दिनमा शान्त हुने आशा व्यक्त गरेका हुन् ।
‘टिकट वितरण गर्दा एउटा पार्टीभित्र त असन्तुष्टि देखिन्छ, यहाँ त गठबन्धनको कुरा छ । तर असन्तुष्टि धेरै ठूलो छैन’, प्रचण्डले भने, ‘असन्तुष्ट रहनुभएका साथीहरूले पनि केही दिनमा कुरा बुझ्नुहुन्छ र यो शान्त र साम्य हुन्छ भन्ने आशा लिएको छु ।’
प्रकाशित समय : १५:१५ बजे



















