गृहपृष्ठ श्रीलंकाले माग्याे आइएमएफसँग आपतकालीन आर्थिक सहयोग
श्रीलंकाले माग्याे आइएमएफसँग आपतकालीन आर्थिक सहयोग
आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा काेष (आइएमएफ)सँग आपतकालीन आर्थिक सहयाेग मागेको छ । अर्थतन्त्र तथा व्यवसायलाई तहसनहस हुनबाट जाेगाउनका लागि आर्थिक सहयाेग प्रदान गर्नेबारे छलफल भइरहेकाे बताएकाे श्रीलंका सरकारले आइएमएफसँग पैसा माग गरेकाे हाे ।
श्रीलंकाका अर्थमन्त्री अली साबरी आर्थिक सहायताका बारेमा छलफल गर्न अधिकारीहरूसँग वासिङ्टनमा उपस्थित छन् । श्रीलंकाको अर्थ मन्त्रालयले भनेकाे छ, ‘देशको आर्थिक संकटलाई न्यूनीकरण गर्न अर्थमन्त्रीले हालसम्म चालेका कदमको आइएमएफले प्रशंसा गरेको छ ।’
पछिल्ला दिनमा श्रीलंकाले आफ्नो वैदेशिक ऋण तत्काल तिर्न नसक्ने बताउँदै आएकाे छ । श्रीलंकाकाे ऋण ५१ बिलियन अमेरिकी डलर रहेकाे छ । जसमध्ये उसले चीनसँग करिब ३६ प्रतिशत ऋण लिएकाे छ । श्रीलंका स्वतन्त्र भएपछि सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ ।
मुलुकमा खाद्यान्न, ग्यास, तेललगायत अत्यावश्यक वस्तुको अभाव र विद्युत कटौतीका कारण जनता सडकमा उत्रिएका छन् ।
प्रकाशित समय : १५:४३ बजे


















