गृहपृष्ठ विप्रेषण आप्रवाह घट्याे, ७.१४ प्रतिशत पुग्याे मुद्रास्फीति
विप्रेषण आप्रवाह घट्याे, ७.१४ प्रतिशत पुग्याे मुद्रास्फीति
गत असार मसान्तमा १ हजार ३९९ अर्ब तीन करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले कमी आई २०७८ फागुन मसान्तमा १ हजार १७१ अर्ब कायम भएको राष्ट्र बैंकले जनाएकाे छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको 'देशको आर्थिक एवं वित्तीय अवस्था'मा जनाइएअनुसार २०७८ माघ मसान्तमा १ हजार १७३ अर्ब दुई करोड थियो ।
बैंकले जनाएअनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ फागुन मसान्तमा १८.५ प्रतिशतले कमी आई नौ अर्ब ५८ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १ हजार २४४ अर्ब ६३ करोड रहेकामा २०७८ फागुन मसान्तमा १८.२ प्रतिशतले कमी आई १ हजार १८ अर्ब पाँच करोड कायम भएको छ । २०७८ माघ मसान्तमा १ हजार २४ अर्ब ६० करोड कायम भएको थियो ।
राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १५४ अर्ब ३९ करोड रहेकामा २०७८ फागुन मसान्तमा ०.९ प्रतिशतले कमी आई १५२ अर्ब ९५ करोड कायम भएको छ । २०७८ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७८/७९ को आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७८ फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपातहरू क्रमश: २७.४ प्रतिशत, ५५.६ प्रतिशत र २२.० प्रतिशत रहेकाे बैंकले जनाएकाे छ । २०७८ असार मसान्तमा यी अनुपातहरू क्रमश: ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।
चालू आर्थिक वर्षको फागुनमा हालसम्मकै उच्च विप्रेषण आप्रवाह भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन महिनामा मात्रै ९१ अर्ब रुपैयाँ विप्रेषण नेपाल भित्रिएको हो । चालू आर्थिक वर्षको ८ महिनामा ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको यही अवधिको तुलनामा भने १.७ प्रतिशतले कमी हो । ८ महिना अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख २७ हजार ९०० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८२.९ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४०.९ प्रतिशतले वृद्धि भई १ लाख ७८ हजार २६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.२ प्रतिशतले घटेको थियो । चालू आर्थिक वर्षको साउनमा ७६ अर्ब, भदौमा ७९ अर्ब, असोजमा ८४ अर्ब, कार्तिकमा ७३ अर्ब, मंसिरमा ७६ अर्ब, पुसमा ८० अर्ब, माघमा ७१ अर्ब रेमिट्यान्स भित्रिएको छ । अघिल्लो अर्थिक वर्षममा साउनमा ९२.७ अर्ब, भदौमा ७३ अर्ब, असोजमा ९३ अर्ब, कार्तिकमा ७८ अर्ब, मंसिरमा ७९ अर्ब, पुषमा ७८ अर्ब, माघमा ७२ अर्ब, फागुनमा ७४ अर्ब, चैतमा ८७ अर्ब, बैशाखमा ८१ अर्ब, जेठमा ६१ अर्ब र असारमा ९० अर्ब रुपैयाँ विप्रेषण नेपाल भित्रिएको थियो ।
राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थिति २५८ अर्ब ६४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब १ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब १७ करोडले घाटामा रहेको छ । फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.०३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५१ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८४ प्रतिशत रहेको छ ।
२०७७ फागुन महिनाको तुलनामा २०७८ फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी, दुधजन्य उत्पादन तथा अण्डा र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २६.३४ प्रतिशत, १३.९६ प्रतिशत, ११.३० प्रतिशत र १०.३० प्रतिशत रहेको छ । त्यसैगरी, गैर-खाद्य तथा सेवा समूहअन्तर्गत यातायात, विविध वस्तु तथा सेवा र शिक्षा उपसमूहको मुद्रास्फीति क्रमशः १६.२७ प्रतिशत, ९.०१ प्रतिशत र ८.७९ प्रतिशत रहेको जनाइएकाे छ ।
राष्ट्र बैंककाे प्रतिवेदन :
प्रकाशित समय : ००:०८ बजे



















