global ime bank Long Banner Ad

गृहपृष्ठ वैशाखसम्म मेलम्चीको पानी काठमाडौंमा आउँछ : मन्त्री चौधरी

वैशाखसम्म मेलम्चीको पानी काठमाडौंमा आउँछ : मन्त्री चौधरी

वैशाखसम्म मेलम्चीको पानी काठमाडौंमा आउँछ : मन्त्री चौधरी

खानेपानीमन्त्री उमाकान्त चौधरीले नयाँ वर्षको वैशाखसम्ममा काठमाडौंको धारामा पानी पुग्ने बताएका छन् । मन्त्री चौधरीले सरकारी लक्ष्यअनुसार चैत मसान्तभित्रै पानी सुरुङमा हाल्न पाएकोमा खुसी व्यक्त गर्दै सरोकारवालामा आभार प्रकट गरे ।

आज मेलम्ची नदीको पानी पुनः पथान्तरण उद्घाटन गर्दै मन्त्री चौधरीले सन्त नेता कृष्णप्रसाद भट्टराईको सपना, त्याग, तपस्याको स्मरण गरे । उनले स्थायी रूपमा पानी पठाउन एसियाली विकास बैंकको टोलीले गरेको भौगर्भिक अध्ययनको रिपोर्ट प्रतिवेदन पेस भएपछि कार्ययोजना बनाइने बताए । मन्त्री चौधरीले आज १ नम्बरकाे डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर उद्घाटन गरे । गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो ।

सोही अवसरमा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले संघीय सरकारको ध्यानाकर्षण गराउँदै खानेपानीमन्त्री उमाकान्त चौधरीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाए । एघार बुँदे ज्ञापनपत्र बुझाउँदै अध्यक्ष शेर्पाले हेलम्बुका बाढीपीडितलाई संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट उपलब्ध गराउने रकम प्रतिपरिवार पाँच लाख तोकिएकामा उक्त रकम बढाएर प्रतिपरिवार कम्तीमा १५ देखि २० लाख रकम उपलब्ध गराउने व्यवस्था मिलाइदिन अनुरोध गरे । उनले मेलम्चीको पानी काठमाडौं लगेबापत रोयल्टीको र बिक्री मूल्यको प्रतिशतमा मुनाफा बाँडफाँटबापतको २५ प्रतिशत सम्बन्धित गाउँपालिकालाई उपलब्ध गराउने व्यवस्थाका लागि ठोस पहल गर्न आग्रह गरे ।

सरकारले यही चैत मसान्तभित्र पानी काठमाडौं पुर्‍याउने घोषणा गरेको थियो । पानी पठाउन आज सुरु गरिए पनि काठमाडौँमा पानी उपलब्ध गराउन अझै दुई साता लाग्न सक्ने बताइएको छ । गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो ।

परीक्षणका लागि असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यही दिन मेलम्ची नदीमा बाढी आएसँगै मेलम्चीको पानी वितरण प्रक्रिया अवरुद्ध बनेको थियो । सुरुङमा प्रतिसेकेण्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताए ।

प्रकाशित समय : ००:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु