गृहपृष्ठ काठमाडौंको मेयर र उपमेयरमा महिला उम्मेदवार बनाउने विवेकशील साझाको घोषणा
काठमाडौंको मेयर र उपमेयरमा महिला उम्मेदवार बनाउने विवेकशील साझाको घोषणा
विवेकशील साझा पार्टीले ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिको मेयर र उपमेयरका लागि समीक्षा बाँस्कोटालाई मेयर तथा कीर्ति तुलाधरलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ, राजधानीको गौरव पुनर्स्थापित गरौं' भन्ने नाराका साथ दुईजना महिला उमेदवार अघि सार्ने निर्णय सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेको हो । प्रवक्ता शरदराज पाठकका अनुसार बाँस्कोटा बागमती प्रदेशकी पूर्वसंयोजक तथा केन्द्रीय कार्यसम्पादन समितिकी सदस्य हुन् । ३८ वर्षीया बाँस्कोटाले काठमाडौं स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी हुन् । गत निर्वाचनमा काठमाडौं-१ ‘क’बाट प्रदेशसभाको उम्मेदवारसमेत बनेकी बाँस्कोटाले २७ प्रतिशत मतसहित तेस्रो स्थान हाँसिल गरेकी थिइन् ।
उपमेयरकी उम्मेदवार तुलाधर केन्द्रीय सदस्य हुन् । नेपाल जेसिजको तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक तुलाधार अन्तर्राष्ट्रिय जेसिजको पनि दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष भएकी थिइन् । शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीया तुलाधर विभिन्न संघ संगठनको नेतृत्वदायी भूमिकामा रहेको प्रवक्ता पाठकले जानकारी दिए ।
विश्वकै विशिष्ट पहिचान बोकेको काठमाडौं पछिल्ला दशकहरूमा क्रमिक रूपले ध्वस्त भएको परिप्रेक्ष्यमा महानगरपालिकालाई दुईजना इमान्दार, सक्षम, परिपक्व र परिवर्तनका लागि प्रतिवद्ध महिलालाई जिम्मा लगाउन सकेको खण्डमा, देशको मुहार परिवर्तनको सुरूवात हुने विश्वास पार्टी अध्यक्ष रवीन्द्र मिश्रले व्यक्त गरेका छन् ।
प्रकाशित समय : १८:०४ बजे

















