गृहपृष्ठ सार्वजनिक यातायात र ट्याक्सीको भाडा बढ्यो (सूचीसहित)
सार्वजनिक यातायात र ट्याक्सीको भाडा बढ्यो (सूचीसहित)
बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसँगै ट्याक्सीको भाडा पनि बढाएको छ । प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी काठमाडौं उपत्यकाको हकमा सार्वजनिक सवारी (बस) र प्रदेशभर लागू हुने गरी ट्याक्सीको भाडा बढाएको हो ।
समायाेजनपछिकाे भाडाअनुसार प्रदेश सरकारले ० देखि ५ किलोमिटरसम्मको भाडा भाडा १८ रुपैयाँबाट बढाएर २० रुपैयाँ पुर्याएको छ । यस्तै, ० देखि १० किलोमिटरसम्मको २३ बाट बढाएर २५ रुपैयाँ, ० देखि १५ किलोमिटरसम्मको भाडा २७ रुपैयाँबाट बढाएर ३० रुपैयाँ, ० देखि २० किलोमिटरसम्मको ३० रुपैयाँबाट बढाएर ३३ रुपैयाँ र २० किलोमिटरभन्दा माथिको भाडा ३५ रुपैयाँबाट बढाएर ३८ रुपैयाँ कायम गरिएको छ ।
प्रदेश सरकारले पेट्रोलसँगै बिजुलीबाट चल्ने ट्याक्सीको समेत भाढा बढाएको हो । पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीको सुरुको फ्लाग डाउन ५० रुपैयाँ कायम भएको छ । यस्तै, दिउँसोको समयमा प्रति २०० मिटरको भाडा ८ रुपैयाँ ८० पैसाबाट बढाएर १० रुपैयाँ कायम गरिएको छ । रात्रिकालीन ट्याक्सी सेवामा सुरुको फ्लाग डाउन ५० रुपैयाँ नै कायम राखिएको छ भने प्रति २०० मिटरको भाडा १५ रुपैयाँ पुर्याइएको छ ।
यस्तै, बिजुलीबाट चल्ने ट्याक्सीको सुरु फ्लाग डाउन ५० रुपैयाँ नै कायम भएको छ । बिजुलीबाट चल्ने ट्याक्सीको दिउँसोको समयका लागि प्रति २०० मिटरको भाडा ९ रुपैयाँ कायम भएको छ । यस्तै, रात्रिकालीन सेवाका लागि प्रति २०० मिटरको भाडा १३ रुपैयाँ कायम गरिएको छ ।
प्रकाशित समय : १६:०२ बजे



















