गृहपृष्ठ हर्मुज खोल्ने इरानको घोषणापछि तेलको मूल्यमा झण्डै १५ प्रतिशत गिरावट
हर्मुज खोल्ने इरानको घोषणापछि तेलको मूल्यमा झण्डै १५ प्रतिशत गिरावट
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र गिरावट देखिएको छ । हर्मुज खुला रहने इरानको घोषणासँगै आपूर्ति अवरोधको चिन्ता घटेपछि बजारमा तेलको मूल्य ओरालो लागेको हो ।
विश्लेषकहरूका अनुसार आपूर्ति सहज हुने संकेतले लगानीकर्तामा विश्वास बढाउँदा मूल्यमा दबाब परेको हो ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले युद्धविराम अवधिभर जलमार्ग पूर्ण रूपमा खुला रहने बताएका थिए । सामाजिक सञ्जाल एक्समार्फत उनले लेबनानसँगको युद्धविरामको सन्दर्भ जोड्दै हर्मुज हुँदै हुने व्यावसायिक जहाजहरूको आवतजावत निर्बाध रूपमा सञ्चालन हुने स्पष्ट पारेका थिए ।
यस घोषणापछि विश्व बजारमा कच्चा तेलको मूल्य झण्डै १५ प्रतिशतसम्म घटेको देखिएको छ । केही दिनअघि मात्रै क्षेत्रीय तनावका कारण मूल्य उकालो लागेको थियो । हर्मुज जलमार्ग विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग भएकाले यहाँको अवस्थाले सिधै अन्तर्राष्ट्रिय बजार प्रभावित पार्ने गर्छ ।
हाल भने युद्धविराम लागू भएसँगै आपूर्ति पुनः सामान्य हुने अपेक्षा गरिएको छ । दुई साताका लागि गरिएको इरान–अमेरिका युद्धविराम आगामी २२ अप्रिलमा सकिने तय छ ।
प्रकाशित समय : २०:२२ बजे



















