गृहपृष्ठ अवैध ४० करोड बचाउन अर्थमन्त्रीकै लिखित आदेश
अवैध ४० करोड बचाउन अर्थमन्त्रीकै लिखित आदेश
अछामको बान्नीगढी जयगढ घर भएका पृथ्वीबहादुर शाहको खातामा दुई महिनाअघि करिब ४० करोड रुपैयाँ आएको थियाे । रकम शंकास्पद देखिएपछि यस विषयमा अमेरिकाको सरकारी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन)ले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।
शाह र परिवारका नाममा आएको रकम जफत गर्न र उक्त रकम अमेरिकालाई फिर्ता दिन फिनसेनले राष्ट्र बैंकलाई भनेको एक अधिकारीले बताए । लगत्तै राष्ट्र बैंकले सम्बन्धित खाता रोक्का गरी अनुसन्धान थालेको थियो । राष्ट्र बैंककै सिफारिसमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेका बेला अर्थमन्त्री जनार्दन शर्माले हस्तक्षेप गरेका छन् । 'त्यस्ता पत्रको वास्ता गर्नु पर्दैन, खातामा भएको रकम फुकुवा गरिदिनु भनेपछि हामी चेपुवामा परेका छौं ।’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।
अर्थमन्त्रीले लिखित नै निर्देशन दिएका भए पनि त्यसकै आधारमा रकम फुकुवा दिन नसकिने राष्ट्र बैंकका एक अधिकारीको भनाइ छ । ‘फिनसेनजस्ता निकायको पत्राचार तथा चेतावनी नमान्ने हो भने सम्पत्ति शुद्धीकरण निवारणमा काम नगरेको भन्दै अन्तर्राष्ट्रिय जगत्मा नेपाल कालोसूचीमा पर्ने अवस्था आउन सक्छ,’ ती अधिकारीले भने ।
अनुसन्धान गरिरहेको निकाय वा अधिकारीलाई अनुसन्धान रोक भनेर निर्देशन दिन कुनै पनि पदमा आसीन व्यक्तिले मिल्दैन । त्यसमा पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अर्थ मन्त्रालय मातहतको निकाय पनि होइन ।
प्रकाशित समय : १७:११ बजे



















