गृहपृष्ठ भारतमा बिजुली बेच्न थप ४ आयोजनालाई स्वीकृति
भारतमा बिजुली बेच्न थप ४ आयोजनालाई स्वीकृति
भारतीय विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई थप ४ वटा आयोजनाको विद्युत भारतीय बजारमा बेच्न स्वीकृति दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार योसँगै कुल ६ आयोजनाबाट उत्पादित ३६४ मेगावट विद्युत् भारतीय बजारमा बिक्री गर्न सकिने भएको हो ।
यसअघि नेपालले गत कात्तिकमा पहिलो पटक देवीघाट र त्रिशूली जलविद्युत् आयोजनाको ३९ मेगावाट 'विद्युत् डे अहेड मार्केट'को अवधारणामा इन्डियन इनर्जी एक्सचेन्जमा बेच्नका लागि अनुमति पाएको थियो ।
यसै साता भएको प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणपछि भारतले यस्तो अनुमति दिएको ऊर्जामन्त्री पम्फा भुसालले बताइन् । ‘विद्युत् उत्पादन, प्रसारण र व्यापारका लागि भारतसँग सहकार्यका लागि महत्त्वपूर्ण सहमति भयो,’ बुधबार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले भनिन्, ‘हामी अन्तरदेशीय मात्र होइन, क्षेत्रीय बजारका लागि पनि पहल गरिरहेका छौं ।
भारत मात्र होइन बंगलादेशमा पनि विद्युत् बेच्नका लागि बाटो खोल्न सहज हुनेछ ।’ नेपालले अब त्रिशूली र देवीघाटका अलावा मर्स्याङ्दीबाट ६७, मध्यमर्स्याङ्दीबाट ६८, कालीगण्डकीबाट १४० र लिखुबाट ५१ मेगावाट विद्युत् भारतीय बजारमा बेच्न सक्नेछ ।
तर, विद्युत् बेच्नका लागि प्रस्ताव गरिएका माथिल्लो तामाकोसी, चमेलिया र माथिल्लो भोटेकोसी जलविद्युत् आयोजनाका लागि भने भारतले अझै स्वीकृति दिएको छैन । ढिलोचाँडो ती आयोजनाहरूको विद्युत् बेच्नका लागि पनि अनुमति पाउने आशा भुसालले व्यक्त गरिन् ।
वर्षायाम सुरु हुनेबित्तिकै नेपालले भारतमा विद्युत् बेच्न सक्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘हिउँदमा हामीलाई विद्युत् अभाव भए पनि वर्षायाममा बेच्नुपर्ने हुन्छ । अब हामी भारतको जुनसुकै बजारमा पनि जान सक्छौं । त्यसका लागि बाटो खुलेको छ,’ घिसिङले भने ।
प्रकाशित समय : १४:४१ बजे



















