गृहपृष्ठ सिद्धार्थ बैंकले महिला उद्यमी तथा साना किसानलाई सुलभ कर्जा उपलब्ध गराउने
सिद्धार्थ बैंकले महिला उद्यमी तथा साना किसानलाई सुलभ कर्जा उपलब्ध गराउने
सिद्धार्थ बैंक र हेफर इन्टरनेसनल नेपालबीच महिला उद्यमी तथा साना किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र हेफर नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार पशुपालनसम्बन्धी कृषि क्षेत्रहरु जस्तै : बाख्रापालन, पशुपालन तथा तरकारीलगायतका मूल्य शृंखलाहरुमा संलग्न महिला उद्यमी तथा साना किसानलाई सहज ढंगले अनुदानमा आधारित वित्तीय कर्जा उपलब्ध गराउन बैंक र हेफर इन्टरनेसनल नेपालबीच उक्त सम्झौता भएको हो । यस साझेदारीको मुख्य उद्देश्य महिला उद्यमी तथा साना किसानहरुको व्यवसाय विस्तार गर्ने क्षमताको मूल्यांकन र विकासमा केन्द्रित गर्ने रहेको छ ।
उक्त योजनामा हेफर नेपालका तर्फबाट सामाजिक उद्यमी महिला सहकारी र स्थानीय सरकार पनि आबद्ध रहेका छन् । महिला सहकारी वा स्थानीय सरकारले उद्यमीहरुको पहिचान र सिफारिसलाई बैंकसँग जोड्न सहज बनाउनेछन् । यसका साथै समाजमा उच्चस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्य लिई आफ्नो १९० शाखा कार्यालय र ११४ शाखारहित बैंकिङ सेवाबाट फराकिलोे पहुँच रहेको सिद्धार्थ बैंकले उक्त सम्झौताअनुरुप उद्यमीहरुलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्ने विश्वास लिएको छ ।
प्रकाशित समय : २३:४२ बजे



















