गृहपृष्ठ महिला निर्वाचन अधिकृत भेटाउनै मुस्किल, पुरूषकै वर्चश्व

महिला निर्वाचन अधिकृत भेटाउनै मुस्किल, पुरूषकै वर्चश्व

महिला निर्वाचन अधिकृत भेटाउनै मुस्किल, पुरूषकै वर्चश्व

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ का दश पालिकाको निर्वाचन अधिकृतमा महिलालाई खटाएको छ । प्रदेशमा १३७ पालिका रहेका छन् । आयोगद्वारा नियुक्त निर्वाचन अधिकृतमा महिलाको संख्या ज्यादै कम हो ।

आयोगले प्रदेश नं १ का १४ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । त्यसमा एक जना पनि महिला पर्न सकेनन् । आयोगले प्रदेशका १४ जिल्लामा १४ मुख्य निर्वाचन अधिकृत र १२३ निर्वाचन अधिकृत नियुक्ति गरेको छ ।

मुख्य निर्वाचन अधिकृतलाई आफू कार्यरत जिल्लाको एउटा पालिकाको निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पनि हुनेछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सम्बन्धित जिल्ला अदालतका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकिएको बताए । उनले महिलाले चासो नदेखाएकाले मुख्य निर्वाचन अधिकृतमा नियुक्ति नभएको हुनसक्ने बताए । 'जिल्लाका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्ति गरिएको छ', उनले भने, 'प्रदेशमा महिला न्यायाधीश हुनुहुन्थेन कि, भए पनि जान सक्दिन भन्नुभयो कि, बुझ्नुपर्छ ।'

पालिकाको निर्वाचन गराउन तोकिएका निर्वाचन अधिकृतमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा विनिता भट्टराई, पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पूजा खत्री, इलामको रोङ गाउँपालिकामा उषा श्रेष्ठ र संखुवासभाको पाँचखपन नगरपालिकामा शशी राई रहेका छन् ।

त्यस्तै, भोजपुरको आमचोक गाउँपालिकामा कल्पना राई, सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकामा कोपिला राई, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा संगिता न्यौपाने ढुंगेल, ओखलढुंगाकाे चिसङ्खुगढी गाउँपालिकामा कमला काफ्ले र ओखलढुंगाकाे सुनकोसी गाउँपालिकामा कविता फुँयाल रहेका छन् ।

आयोगका प्रवक्ता पौडेलले उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौंमा भने बढी मात्रामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा महिला नै बढी नियुक्ति भएको बताए । उनले दुर्गम स्थानमा जानका लागि महिला इच्छुक नभएका कारण पनि प्रदेश नं १ मा महिला निर्वाचन अधिकृत कम भएको हुनसक्ने बताए ।

प्रदेशमा ३३ लाख ४६ हजार ३८४ मतदाता रहेका छन् । त्यसमा १६ लाख ९९ हजार ८०० पुरुष र १६ लाख ४७ हजार ६१ महिला र २३ जना अन्य रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित समय : १४:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु