गृहपृष्ठ मौकामा चौका : सौदाबाजी गर्दै ‘दल फेरबदल’
मौकामा चौका : सौदाबाजी गर्दै ‘दल फेरबदल’
एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘इनर्जी’ देखेर ताज्जुबै लाग्ने बताएकी चर्चित अभिनेत्री करिश्मा मानन्धरले चैत ८ मा एमाले प्रवेश गरिन् । एमाले प्रवेशको दिन रातो साडीमा चिटिक्क परेर काठमाडौंको एक प्यार्टी प्यालेसमा सरोबर उपस्थित भएकी उनलाई एमाले अध्यक्ष ओलीले भावविभोर खुशीका साथ स्वागत गरे । स्वागत समारोहमा उपस्थित एमालेजनहरु पनि अभिनेत्री मानन्धरको प्रवेशले बहुत खुश देखिन्थ्ये ।
नेपाली चलचित्र क्षेत्रमा झण्डै ३० बर्षदेखि हालसम्म सक्रिय नै रहेकी मानन्धर यसअघि पनि उस्तै खाले रातो साडीमा सजिएर नयाँ शक्ति नेपाल नाम गरेको पार्टीमा प्रवेश गर्दा त्यसको नेतृत्व गरेका डा. बाबुराम भट्टराई उत्तिकै दंग थिए । तर बाबुरामसँग तिक्तता चुलिएपछि त्यो पार्टीसँग उनको सम्बन्ध विच्छेद भयो । संयोगजस्तै करिश्मा बाहिरिएपछि बाबुरामको पार्टीसमेत नामोनिशान मेटिने गरि विलिन भयो । भट्टराई अहिले जनता समाजवादी पार्टी (जसपा) नामको मधेश केन्द्रीत दलको संघीय परिषद् अध्यक्ष भएर काम गरिरहेका छन् ।
एमालेमा करिश्मा यतिकै आएकी होइनन् । उनले १२ पास गरेको अवसरमा केही महिनाअघि मात्रै ओलीले फोन गरेर बधाई दिएपछि त्यसको ‘स्क्रीनसट’ नै सार्वजनिक गरेर करिश्माले ‘खुशीमनाउ’ गरेकी थिइन् । त्यतिबेलाकै ओलीको फोनले त्यसयता दुईपटक भेटवार्ता जुराएर एमालेसम्मको यात्रा तय गरेको हो । अब उनी एमालेबाट गायिका कोमल वली जस्तै सांसद बन्ने वा काठमाडौंको उपमयेरमा आउन चर्चा छ ।
खैर, उनले यसविषयमा आफु पदका लागि एमालेमा नआएको तर अवसर पाए तयार रहेको बताएकी छन् ।
निर्वाचनको मुखमा अवसर हेर्दै पार्टी प्रवेश गर्ने उनीमात्रै एक्ली पात्र होइनन् । करिश्माले एमाले प्रवेश गरेकै दिन पूर्वमन्त्रीसमेत रहेका प्रेमबहादुर सिंहलाई पनि ओलीले पार्टीमा स्वागत गरेका थिए । विडम्बना, चर्चित अभिनेत्रीसँगै एमाले प्रवेश गरेका सिंह सिंगो पार्टी लिएर डेरा सार्न पुगेपनि छाँयामा परे ।
किनकि, सिंहको सिंगो समाजवादी जनता पार्टीको प्रवेशभन्दा करिश्माको सुन्दरतामा एमाले लठ्ठीएको थियो ।
यसैपनि सिंह नेपाली राजनीतिमा ‘अवसरवादका नमुना’ भनेर चिनिन्छन् । आजभन्दा १८ बर्षअघि एमालेमै सक्रिय रहेका उनी त्यसयता अवसरका लागि धेरै पार्टी चाहर्दाचहार्दै तीनपटक मन्त्री भइसकेका छन् । एमाले अध्यक्ष ओलीकै सरकारमा २०७२ मा कानुनमन्त्री बनेका उनी ७३ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा विज्ञान तथा प्रविधिमन्त्री बनेका थिए ।
२०७१ माघमा एमाले अध्यक्ष ओलीलाई ‘मानसिक रोगी’ भन्दै उपचार गर्न सुझाव दिएका सिंहले २०७८ चैत ८
मा आएर ओलीबाटै एमालेको खादा पहिरिएका हुन् । सिंहले अब एमालेबाट टिकट पाउने पक्कापक्की जस्तै छ ।
निर्वाचनको मुखमा ‘टिकट फिक्स’ गर्दै पार्टीका झण्डा फेर्नेहरुको संख्या बाक्लिएको छ । एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा लगायतका दलमा नेता–कार्यकर्ता प्रवेश
र पार्टी फेरबदलका दृश्यहरु बाक्लिएका छन् । करिब तीन सातायता मात्रै नगर, महानगर प्रमुखसम्मले अर्को पार्टी रोजेका छन् । कार्यकर्ता–मतदाताले भने नेताको दल फेरबदललाई अवसरवादी प्रवृत्तिका रूपमा चित्रण गर्ने गरेका छन् ।
बैशाख ३० मा तोकिएको स्थानीय तहको निर्वाचन आउन अब मात्रै डेढ महिना जतिको समय बाँकी रहेका बेला आगामी चुनावमा उम्मेदवार बनाएर जिताउनेसम्मका आश्वासन दिएर नेता–कार्यकर्ता फकाउन पार्टीका शीर्ष तह नै सक्रिय बनेको छ ।
गत मंसिर २७ मा पर्साको सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्ष फुलमती देवी चौधरी र जगरनाथपुर गाउँपालिका–६ का वडा अध्यक्ष अजोध्या कुर्मी एमाले प्रवेश गरेका थिए । उनीहरु पहिला जसपामा सक्रिय थिए ।
पुष ८ गते पर्साको जगरनाथपुर गाउँपालिका प्रमुख जालिम मियाँ एमालेमा प्रवेश गरे । मियाँ माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
पुष १९ गते नेकपा एमालेबाट निर्वाचित अर्घाखाँचीको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरिन् ।
माघ २२ गते कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरे । २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र विजय भएका शाह कांग्रेस प्रवेश गरेका हुन् । शाहसँगै नगरपालिकाको वडा नं. ९ का वडाध्यक्ष राममिलन चौधरी, वहुजन पार्टीका नेता चर्तुभुज कहांर पनि कांग्रेस प्रवेश गरेका थिए ।
माघ २७ गते रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरे । २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन लोकतान्त्रिक फोरमबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका शुक्ला संघीय र प्रदेशसभा निर्वाचनको मुखमा नेकपा एमालेमा प्रवेश गरेका थिए । उनले आफ्नी पत्नी पल्लबी शुक्लालाई एमालेबाट प्रदेशसभा सदस्य उम्मेदवारसमेत बनाएका थिए । पछिल्लो समय सीके राउतको जनमत पार्टीसँग नजिक रहेका शुक्ला चुनाव घोषणापछि माओवादीमा प्रवेश गरेका हुन् ।
फागुन २ गते रूपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव र ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट र उपाध्यक्ष सुन्दरीमती कुमारी हरिजन एमालेमा प्रवेश गरे । यादव यसअघिको निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी (जसपा)को गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । केवट र हरिजन भने नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।
फागुन २४ गते सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गरे । नेकपा (एमाले) पार्टी त्यागेका अध्यक्ष क्षेत्री कांग्रेसमा प्रवेश गरेका हुन् । नेकपा एमालेको जिल्ला अध्यक्ष नपाएपछि असन्तुष्ट बनेका क्षेत्री कांग्रेसबाट प्रदेशसभा सदस्य टिकट पाउने गरि प्रवेश गरेको बुझिएको छ । तर उनले न्युजकारोबारसँग बोल्दै पदका लािग आफुले पार्टी फेरबदल नगरेको बताए । ‘म कुनै पदका लागि कांग्रेसमा प्रवेश गरेको होइन । एमालेसंग सिदान्त सकिएपछि कांग्रेसको विचारमा समाहित हुन आएको हुँ ।’, उनले भने, ‘तर यति भन्दैमा म कांग्रेसमा जोगी हुन आएको पनि होइन । नेतृत्वले मलाई विश्वास गरेर जिम्मेवारी दिए प्रवेशमा जान सक्छु ।’ क्षेत्रीसँगै एमाले जिल्ला सदस्य सुभाष सुन्दास पनि कांग्रेस प्रवेश गरेका छन् ।
फागुन २५ गते मोरङको रंगेली नगरपालिकाका मेयर दीलिप बगडिया र उपमेयर केशवकुमारी खराल पनि नेकपा एमालेमा प्रवेश छन् । उनीहरु नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।
फागुन २६ गते पर्साको पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियार (मन्टु) नेपाली कांग्रेसमा प्रवेश गरे । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली जनता दलबाट रौनियार पोखरिया नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।
फागुन २८ गते शनिवार वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नै नेकपा एमालेमा प्रवेश गरे । २०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालिन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । एमाले प्रवेश गर्नुअघिसम्म उनी जनता समाजवादी पार्टीका नेता थिए । उनी एमाले प्रवेश गर्ने भएपछि एमाले अध्यक्ष ओली नै वीरगञ्ज पुगेर तामझामपूर्ण स्वागत गरेका थिए । उनलाई आगामी निर्वाचनमा पुनः मेयरमा उठाउने र जिताउने आश्वसन ओलीले दिएका छन् ।
फागुन २८ मै बारा जिल्लाको आदर्श कोटवाल गाउँपालिकाका अध्यक्ष मुस्तफा अन्सारी पनि जनता समाजवादी पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।
प्रकाशित समय : ११:४० बजे



















