गृहपृष्ठ यस कारण बढ्याे कुखुराको मासु र अण्डाकाे मूल्य
यस कारण बढ्याे कुखुराको मासु र अण्डाकाे मूल्य
चीनको उहान सहरबाट सुरु भएको कोरोना विश्वभर फैलियो । यसले विश्वभरको अर्थतन्त्र लथालिंग नै बनाइदियो र यो क्रम झण्डै २ वर्षसम्म चल्यो । २ वर्षसम्म उद्योग, कलकारखानाहरु बन्द भए । निरन्तर अर्थतन्त्रमा समस्याहरु थपिँदै गए । एक देशबाट अर्को देशमा निर्यात हुने सम्पूर्ण सामग्रीहरुमा यसको प्रभाव पर्यो । नेपाल पनि यो महामारीबाट अछुतो रहेन । उत्पादनभन्दा आयातमा बढी निर्भर रहने नेपालजस्तो मुलुकका लागि यो महामारीले अर्थतन्त्रको मेरुदण्ड नै भाँचिदियो ।
करिब २ वर्षसम्म समस्या झेलेको पोल्ट्री फार्मले कोरोना कहरपछि अब सामान्य हुन्छ कि भन्ने बेला फेरि अर्को झमेला खेप्न बाध्य भएका छन् । करिब १ महिनादेखि सुरु भएको रूस-युक्रेन युद्धको चपेटामा पोल्टी फार्म पनि परेको छ । चल्ला आयात गर्न नसकेपछि व्यवसायीहरू समस्यमा परेका छन् ।
पोल्ट्रीका लागि चाहिने कच्चा पदार्थ तथा औषधिजन्य सामग्रीहरु युक्रेन, रुस र ब्राजिल लगायतका देशबाट आयात गरिन्थ्यो । युद्ध सुरु भएदेखि सामान आयात हुन छोड्यो । जसके प्रत्यक्ष मारमा पोल्ट्री व्यवसायीहरू परे । जसको कारण बजार भाउ ३० प्रतिशतसम्म मूल्यवृद्धि भयो । यसको असर दैनिक उपभोग गरिने माछा, मासु, अण्डालगायत खाद्यान्नमा पनि परेको छ ।
कोरोनाको बेला ब्रोइलर कुखुराको अण्डा प्रतिक्रेट र मासु प्रतिकेजी मूल्य २८० रूपैयाँ थियो । रूस-युक्रेन युद्धलगत्तै त्यो मूल्य बढेर हाल बजारमा ब्रोइलर कुखुराको मासु प्रतिकेजी ४४० रुपैयाँ पुगेको छ । कुखुरापालकबाट प्रतिकेजी ३४० रुपैयाँमा जिउँदो कुखुरा लिएर व्यवसायीहरूले ४४० रुपैयाँमा तयारी मासु बेचिरहेका छन् भने अण्डाको मूल्य प्रतिक्रेट ४४० देखि ५०० रुपैयाँसम्म पुगेको छ । यसो हुनुमा रूस-युक्रेन युद्धदेखि मौसमले पनि प्रभाव पारेको व्यवसायीहरू बताउँछन् ।
गत फागुन मध्यसम्म उपभोक्ताहरूले खुद्रा बजारमा कुखुराको मासु प्रतिकेजी ३५० रुपैयाँसम्ममा पाउँथे । तर, केही दिनयता मासुको मूल्य प्रतिकेजी ८० देखि ९० रुपैयाँसम्म बढेको छ । हाल मुलुकमा दैनिक ६० देखि ८० टन मासु खपत हुने गरेको छ । काठमाडौं उपत्यकामै दैनिक ५० टन माग रहेको छ ।
नेपाल पशुपन्छी औषधि व्यवसायी संघका पूर्वमहासचिव चैत्य प्रसाद शाहीले कोभिड-१९ ले थला पारेको बेला फेरि रूस-युक्रेन युद्धले झनै अभाव उत्पन्न भएको बताए । 'रूस-युक्रेन युद्धका कारण पनि सामानको मूल्य बढेको हो तर यसको मुख्य कारण मौसम पनि हो । मौसमअनुसार कुखुराको उत्पादन घटबढ हुने गर्दछ,' न्युज कारोबारसँग उनले भने । यो समयमा उत्पादन कम हुँदा त्यसको प्रभाव परेको र मूल्यवृद्धि भएको उनको भनाइ छ ।
‘यो मौसममा हरेक वर्ष कुखुराको मासुको मूल्य बढ्छ । जाडोमा कुखुराको उत्पादन नै कम हुन्छ । अधिकांश कृषकहरूले जाडोमा चल्ला हाल्दैनन् । यता खपतको बजार घटेको हुँदैन, अझ बढ्छ । उत्पादन नहुने, तर बजार बढ्ने हुँदा स्वतः यसको दबाब आपूर्तिमा पर्दा मूल्य बढेको हो,’ शाहीले भने । अहिले पनि बजारमा कृषकहरूले आवश्यक चल्ला हालिनसकेकाले मासुको मूल्य अझै केही दिनसम्म नघट्ने उनले बताए । ‘उत्पादन बढ्यो भने मूल्य घट्ने हो । तर, अहिले पनि कुखुरा उत्पादक अधिकांश कृषकहरूले चल्ला हालेका छैनन् । पोल्टीसँग सम्बन्धित ८० प्रतिशत सामान बाहिरबाट ल्याइन्छ । तर अहिले सामानको मूल्य बाहिरी देशमा नै महँगिएको छ,’ उनले भने ।
दाना बनाउने कच्चा पदार्थ मुख्यतः मकै, भटमासको पिना, औषधि, कच्चा तेल तथा फिड सप्लिमेन्टहरुको अस्वाभाविक मूल्यवृद्धि भएको दाना उत्पादक संघको दावी छ । संघकाअनुसार आर्थिक वर्ष २०७४/७५ को बजेटसम्म दाना उद्योगलाई आवश्यक कच्चा पदार्थ मकै तथा भटमासको पिनाको भन्सार महसुल १.६ प्रतिशत मात्र थियो । यो दर २०७५/७६ बाट मकैमा ५ प्रतिशत र भटमासको पिनामा ९ प्रतिशतसम्म कृषि सुधार शुल्क बढाइएको छ । जसका कारण दानाको मूल्य बढेको संघको दाबी छ ।
उत्पादनमा प्रभावित भई मूल्य वृद्धि भएको नेपाल दाना उद्योग संघले जनाएको छ । ‘रूस-युक्रेन युद्धकै कारण मकै, भटमास, तेल लगायतका कच्चा पदार्थको आपूर्ति रोकिएको छ । सीमित आपूर्तिमा पनि अत्यधिक ३० प्रतिशतसम्मले मूल्य बढेर आएको छ । यसले गर्दा दाना उत्पादनमा नै समस्या परिरहेको संघको भनाइ छ ।
प्रकाशित समय : ०१:५२ बजे


















