गृहपृष्ठ आलमदेवीको विकासका लागि प्रतिबद्ध छौँ: मुख्यमन्त्री पोखरेल
आलमदेवीको विकासका लागि प्रतिबद्ध छौँ: मुख्यमन्त्री पोखरेल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऐतिहासिकस्थल आलमदेवीको विकासका लागि प्रदेश सरकारले आर्थिक 'प्याकेज' घोषणा गरी अगाडि बढ्ने बताएका छन् ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका-३ लसर्घामा रहेको आलमदेवी मन्दिरको आज अवलोकनपश्चात् विकासका लागि प्याकेज बनाएर अब छिट्टै काम सुरु गर्ने बताएका हुन् । 'धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिले निकै अगाडि रहेको यस स्थलको विकासका लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध छ,' उनले भने, 'यहाँ आउने बाटो र यस गुरुयोजनाबारे माग भएको छ, पोखरा फर्केपछि आवश्यक पहल गर्नेछु ।'
आलमदेवी मन्दिरको सम्बन्ध नेपाल एकीकरणसँग पनि जोडिएकाले यसको महत्व र इतिहासबारे जानकारी गराएर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने बताए । 'आलमदेवी धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न सकिने भए पनि यसको महत्व अनुसारको प्रचारप्रसार गर्न जरुरी छ', उनले भने, 'गण्डकी प्रदेशलाई धार्मिक पर्यटनसँग पनि जोडेर अगाडि बढ्नुपर्नेछ ।'
गण्डकी प्रदेशलाई धार्मिक पर्यटनका माध्यमबाट समृद्ध प्रदेश बनाउन सकिने उनको दाबी थियो । मानव सभ्यतासँग जोडिएको कालीगण्डकी नदीलाई डाइभर्सन गर्न नदिने पक्षमा गण्डकी प्रदेश सरकार रहेको अडान उनको थियो । शाह वंशको कूल देवताका रूपमा समेत रहेको आलमदेवी मन्दिरको जति मात्रमा विकास र प्रचारप्रसार हुनुपर्ने हो त्यो हुन नसकेको पूर्वसांसद शङ्करप्रसाद पाण्डेले बताए ।
पूर्वसांसद पाण्डेले मन्दिरसम्म पुग्नका लागि सिँढी बाटो आवश्यक रहेको भने । पूर्वसांसद पाण्डेले नेपाल एकीकरणका बेला र उक्त समयभन्दा अघिदेखिका महत्वपूर्ण हातहतियार मन्दिरमा रहेकाले त्यसको संरक्षण गर्नुपर्नेमा मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षण गराउनुभएको थियो । 'आलमदेवी मन्दिरको विकास निर्माणका लागि केन्द्रीय सरकारबाट गुरुयोजना तयार भइसकेको छ', पूर्वसांसद पाण्डेले भने, 'त्यसको कार्यान्वयनका लागि प्रदेश सरकारले आवश्यक पहल र समन्वय गर्न अनुरोध गर्दछु ।'
प्रकाशित समय : २३:४३ बजे



















