गृहपृष्ठ बाइक रेसिङ प्रतियोगिता ‘नेपाल रेसर कप २०२२’ सम्पन्न
बाइक रेसिङ प्रतियोगिता ‘नेपाल रेसर कप २०२२’ सम्पन्न
हिमालयन मोटरल्यान्डमा बाइक रेसिङ प्रतियोगिता ‘नेपाल रेसर कप २०२२’ सम्पन्न भएको छ । तीन दिन सम्म विभिन्न प्रकारको छनोट खेल पश्चात सो प्रतियोगिताको फाइनल खेल शनिबार सम्पन्न भएको हो । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)को सहयोगमा मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको सो मोटरसाइकल रेसिङ प्रतियोगिताको फाइनल खेलमा १५० सीसीतर्फ सन्दीप घिमिरे विजेता बने भने सुजन थापा मगर र महेश राना मगरले दोस्रो र तेस्रो स्थान हासिल गरे । त्यसैगरी २०० सीसीतर्फ राजकुमार कार्की विजेता बने भने विवेश श्रेष्ठ र भिम होनाले क्रमशः दोस्रो तर तेस्रो स्थान हासिल गरे ।
१५० सीसीअन्तर्गत १५० देखि १८० सीसी सम्म र २५० सीसीअन्तर्गत २०० देखि २२० सीसी सम्मका बाइक राइडर सहभागी थिए । १५० सीसीमा ४८ जना र २०० सीसीमा २४ जना प्रतियोगीले भाग लिएका थिए । विजेताहरुलाई नासाका प्रमुख सल्लाहकार गोविन्द भट्टराई, अध्यक्ष दशरथ रिसाल र महासचिव सुशील तण्डुकारका साथै नासाका अन्य पदाधिकारीहरु आशिष लामिछाने र सन्तोष न्यौपानेका साथै विभिन्न कम्पनीका पदाधिकारीहरु र मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारले पुरस्कार वितरण गरेका थिए ।
लकडाउन पश्चात पहिलो पटक राष्ट्रिय स्तरमा आयोजना गरिएको प्रतियोगितामा उत्साहजनक रुपमा राइडरहरुको सहभागिता रहेको थियो । यस प्रकारको राइडिङ प्रतियोगिताले मोटर स्पोर्ट्स क्रेजलाई बढाउन महत्वपूर्ण भूमिका खेल्ने र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्याउने बताइएको छ । आगामी दिनमा यस प्रकारका मोटर स्पोर्ट्स इभेन्ट अझै बढ्ने अपेक्षा गर्न सकिन्छ ।
प्रकाशित समय : २२:४८ बजे



















