गृहपृष्ठ महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंकको एक्स्टेन्सन काउन्टर स्थापना
महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंकको एक्स्टेन्सन काउन्टर स्थापना
धरान उपमहानगरपालिका-१० स्थित महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टर स्थापना भएको छ । बैंक सञ्चालक समिति सदस्य डा. सावित्री रंजित श्रेष्ठ र क्याम्पस प्रमुख दामोदर भण्डारीले काउन्टरको संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रममा सञ्चालक समिति सदस्य डा. श्रेष्ठले १९९४ सालमा स्थापित देशकै पहिलो बैंकले देशका विभिन्न भूगोल र क्षेत्रमा आफूलाई उभ्याउदै बैंकिङ सेवा दिने क्रममा सो क्याम्पसमा बैंकिङ सेवाको लागि एक्स्टेन्सन काउन्टर स्थापना गरेको बताए । उनले हाल नेपाल बैंक आधुनिक प्रविधि र उच्चतम बैंकिङ सेवाभावको साथ बौद्धिक युवा जनशक्तिबाट गुणस्तरीय सेवा प्रवाहका साथ समयसँगै अगाडि बढिरहेको विषय राख्दै क्याम्पसले विश्वास गरी थप सेवा गर्ने मौका दिएकोमा क्याम्पसलाई विशेष धन्यवाद दिए ।
क्याम्पस प्रमुख भण्डारीले पुरानो बैंकिङ इतिहास र अनुभव भएको बैंकको एक्स्टेन्सन काउन्टर क्याम्पस परिसरमा सञ्चालन हुन गएकोमा सहर्ष धन्यवाद दिँदै बैंकको सेवा प्रवाह उच्चस्तरीय रहेको र बैंकले प्रस्ताव गरेका विभिन्न डिजिटललगायत बैंकिङ सेवा क्याम्पसले प्रयोग गरी लाभन्वित पनि भइरहेको बताए । सो कार्यक्रममा बैंकका प्रदेश नं. १ का प्रदेश प्रमुख सूर्य प्रकाश भट्ट, धरान शाखाका शाखा प्रवन्धक लगायतका बैंक कर्मचारीहरु तथा क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
२०१२ सालमा स्थापना भएको पूर्व क्षेत्रकै पुरानो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसमा हाल ५ हजार ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । नेपाल बैंक लिमिटेडका नेपालभर २१३ शाखा, १४७ एटीएम साथै ५० वटा एक्स्टेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको छ ।
प्रकाशित समय : २१:१८ बजे



















