गृहपृष्ठ ‘पार्टी भनेको कुनै व्यक्तिको प्रभाव क्षेत्र होइन, सभापतिको प्रतिवाद हुन्छ’

‘पार्टी भनेको कुनै व्यक्तिको प्रभाव क्षेत्र होइन, सभापतिको प्रतिवाद हुन्छ’

‘पार्टी भनेको कुनै व्यक्तिको प्रभाव क्षेत्र होइन, सभापतिको प्रतिवाद हुन्छ’

नेपाली कांग्रेसभित्र यतिबेला दुई खेमाबीच शक्ति संघर्ष चर्किएको छ । गठबन्धनविरोधी शेखर कोइराला पक्ष शक्तिशाली बन्दै गएपछि पार्टीभित्र बहुमतमा रहेका सभापति शेरबहादुर देउवा दबाबमा छन् । १४औं महाधिवेशनमा करिब ४० प्रतिशत मत ल्याएर देउवासँग पराजित भएका कोइरालाले अब उप्रान्त पार्टीमा ‘भाग राजनीति’ नगर्ने उद्घोष गरेका थिए । त्यतिबेला सभापति देउवाले समेत पक्ष/विपक्ष नछुट्याएर सबैको सभापति बन्ने संकल्प गरेका थिए । तर महाधिवेशन सकिएको चार महिनापछि नै कांग्रेसभित्र पुनः भागबण्डा सुरु भएको छ भने अन्तरविरोध बढ्दाे छ । ४० प्रतिशतका हिस्सेदार कोइरालालाई सभापति देउवाले भेट्नसमेत समय नदिएपछि उनीहरुबीचको दूरी झन् बढेको छ । बुधबारमात्रै आफूपक्षीय बैठक राखेर कोइराला समूहले पार्टीका हरेक संरचना र सबै तहका चुनावमा ४० प्रतिशत हिस्सा खोज्ने, महानगरबाहेक पालिकाको उम्मेदवारी निर्णय केन्द्रबाट गर्न नदिने रणनीति अघि सारेको छ । जसलाई मान्ने पक्षमा देउवा छैनन् । यसले कांग्रेसको मुखमै रहेको ऐतिहासिक अवसर गुम्ने खतरा देखिएको छ । शेखर कोइराला पक्षनिकट नेता गुरुराज घिमिरेसँग न्युजकारोबार डटकमका लागि सन्तोष विके थापाले गरेकाे कुराकानी :


महाधिवेशनपछि पार्टीमा भाग नखोज्ने उद्घोष गरेका तपाईँहरु अहिले भाग नदिए जे पनि गर्छौ भन्ने तहमा पुग्नु भएको छ । यो जे पनि गर्ने भनेको के हो ?

कुनै पनि राजनीतिक दल वा संस्थालाई नेतृत्व अथवा कुनै व्यक्ति विशेषले आफ्नो अनुकुलतामा चलाउन खोज्नु हुँदैन । प्रजातान्त्रिक शासन पद्धति भएका संसारका सबै देशमा यसलाई गम्भीरतापूर्वक लिइन्छ । हाम्रो सन्दर्भमा नेपाली कांग्रेस भनेको सबैभन्दा पुरानो र नेपालीको राजनीतिककाे अगुवाइ गर्दै आएको पार्टी हो । यो दलको नेताले पार्टी चलाउँदा धेरै कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ । जुन अहिले हाम्रो सभापतिमा देखिएको छैन । १४औं महाधिवेशनपछि सभापति देउवाले जुन किसिमले पार्टी चलाउँछु भनेर संकल्प गर्नु भएको थियो, त्यो पुरा भएन । उहाँले 'म विगतको पक्षपात, भेदभाव र काखापाखाको राजनीतिलाई दोहोर्‍याउदिनँ । म आफूलाई सुधार्छु' भनेर संकल्प गर्नु भएको थियो । तर उहाँमा त्यस्तो कुनै लक्षण देखिएन । बरु एकलौटी ढंगले पार्टी चलाउन खोज्नु भएको छ ।

अब के भएपछि कांग्रेस एक ढिक्का हुन्छ त ? तपाईँहरुले खोजिरहेको कुरा चाहिँ के हो ?

कुरा के हो भने, पार्टी भनेको कुनै व्यक्तिको प्रभाव क्षेत्र होइन । बीपीले स्थापना गरेको यो पार्टी उहाँको परिवार वा उहाँले चाहेको व्यक्तिको त रहेन भने, सभापतिको मात्रै इच्छाले पार्टी चल्न सक्दैन ।

भन्नुको मतलब, अब पार्टीमा ४० प्रतिशत हिस्सा देउवाले तपाईँहरुलाई दिनुपर्‍यो । स्थानीय तहको निर्वाचनमा ४० प्रतिशत व्यक्ति तपाईँहरुले पठाउनु पाउनु पर्‍यो । मुद्दा यति हो ?

हिस्सा वा भागबण्डाको कुरा होइन । कुरा के हो भने समान अवसर र न्यायको हो । त्यो कुरा उहाँले प्रारम्भ गर्नु भएको भए यो अवस्था आउने थिएन । सुरुमै उहाँले मनोनयन गर्दा आफूलाई मत हाल्ने मात्रै छानेर केन्द्रीय कमिटीमा मनोनयन गर्नुभयो । यसले स्पष्ट के संकेत गरेको छ भने ‘आफ्नो पक्षमा उभिएकालाई म संरक्षण गर्छु, उनीहरुको राजनीतिक भविष्य सुरक्षित छ । अन्य समूह वा व्यक्ति मेरो जिम्मेवारीका होइनन् । मैले उनीहरुको जिम्मेवारी लिनुपर्दैन ।’ उहाँले यस्तो सन्देश दिनुभएको छ । यसबाट के देखिन्छ भने स्थानीय तहको चुनाव होस् वा संसदीय चुनाव, पार्टीले परिणाम निकाल्न सक्ने छैन ।

सभापति देउवा विधानअनुसार चल्नु भएन, एकलौटी गर्नुभयो भन्ने तपाईँहरुको आरोप छ । तर उपसभापति तपाईँहरुकै हुनुहुन्छ, महामन्त्री तपाईँतिरकै हुनुहुन्छ । सहज तरिकाले लिन सकिने ठाउँ पनि देखिन्छ । यतातर्फ किन सोच्नु भएन ?

होइन, पार्टी चलाउँदा विवेक पुर्‍याउने सभापतिले हो । उपसभापति, महामन्त्री भनेका पदीय जिम्मेवारी माथि भए पनि सभापतिकै आशयअनुसार चल्ने हो । मूल कुरा त सभापतिले नै विवेक पुर्‍याउनु पर्‍यो नि । सभापति जीको भूमिका विवेकसंगत ढंगले अगाडि बढेको छैन । यसमै हामीले प्रश्न उठाएको हो । प्रश्न उठाइरहन्छौं । पार्टी भनेको साझा हो ।

अहिले स्थानीय तहको निर्वाचन नजिकिएको छ यसले तल्लो तहका नेता कार्यकर्तामा कस्तो सन्देश जान्छ ?

यसमा सभापतिले सोच्ने कुरा हो । पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित बनाउने, पार्टीका नेताहरुलाई व्यवस्थापन गर्ने भूमिका पार्टी सभापतिको होइन र ? त्यसमा प्रश्न उठाउने जिम्मेवारी त शेखर कोइराला पक्षकै हो नि ।

गठबन्धनबीच चुनाव तालमेलका विषयमा त झन तपाईँहरुबीच ठूलो मतभेद छ । चुनावी तालमेल गर्नै नहुने पक्षमा तपाईँहरु हो ?

हामीले कम्युनिष्ट पार्टीहरुलाई कतिञ्जेल बोक्ने ? के आवश्यकता छ अब पनि बोकिरहन ? अहिले कम्युनिष्ट पार्टी तीन टुक्रामा विभाजित भएका छन् । जनतामा उनीहरुको कुनै विश्वासनीयता छैन । उनीहरु मिल्ने सम्भावना पनि छैन । मिले पनि जनताले मत हाल्ने सम्भावना छैन । यस्तो अवस्थामा हामीले उनीहरुलाई बोक्नुपर्ने आवश्यकता पनि छैन । गठबन्धन भनेको त विशेष परिस्थितिमा बनेको हो । चुनावका लागि बनेको पनि होइन ।

भनेपछि कांग्रेस एक्लै चुनावमा जानुपर्छ भन्ने पक्षमा तपाईँहरु अडिग हुनुहुन्छ ?

पार्टीले के निर्णय गर्छ त्यसलाई हामी मानौंला । त्यो एउटा कुरा हो । तर अहिले गठबन्धनको कुनै आवश्यकता छैन । नेपाली कांग्रेसले एक्लै चुनाव जित्छ ।

प्रकाशित समय : १७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु