गृहपृष्ठ वर्षमान पुन फलोअप उपचारका लागि चीन प्रस्थान
वर्षमान पुन फलोअप उपचारका लागि चीन प्रस्थान
माओवादी केन्द्रका नेता वर्षमान पुन फलोअप उपचारका लागि आज चीन गएका छन् । पुन सामान ढुवानी गर्न जाँदै गरेको कार्गो विमानमार्फत पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बिहान नौ बजे चीन प्रस्थान गरेका छन् ।
पुन दम्पतीसँगै उनको नियमित उपचारमा संलग्न डा. रोशन पोखरेल पनि चीन जाँदैछन् । जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए । जण्डिसको मात्रा अनियन्त्रित रुपमा बढेसँगै स्वास्थ्य अवस्था जटिल भएपछि पुनलाई गत १३ असोजमा थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पताल लगिएको थियो । दुई महिनाको उपचारपछि पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि पुनलाई १० मंसिरमा चीनबाट विशेषज्ञ चिकित्सकसहितको टोली आएर सेनजेन लगेको थियो ।
स्वास्थ्य लाभ गरी पुन १० माघमा स्वदेश फर्किएका थिए । स्वास्थ्य अवस्था सामान्य रहे पनि चीनबाट फर्किनुअघि चिकित्सकले दुई महिनापछि फलोअपमा आउन भनेकाले जान लागेको पुन पत्नी घर्तीले जानकारी दिइन् । स्वास्थ्य जाँच गरी पुन चार दिनपछि स्वदेश फर्कने कार्यक्रम छ ।
प्रकाशित समय : १७:३४ बजे


















