गृहपृष्ठ विश्वकप छनोट : चिलीमाथि ब्राजिलको सानदार जित
विश्वकप छनोट : चिलीमाथि ब्राजिलको सानदार जित
फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सानदार जित निकालेको छ । शुक्रबार बिहान घरेलु मैदानमा सम्पन्न खेलमा ब्राजिलले चिलीलाई ४-० ले हराएको हो । ब्राजिलको जितमा नेयमार, भिनिसियस जुनियर, रिचार्लिसन र फिलिपे कौटिन्होले गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुई गोल निस्किएको थियो ।
खेलको ४४औं मिनेटमा नेयमारको पेनाल्टी गोलबाट ब्राजिलले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि इन्ज्युरी समयमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे।
खेलको ७२औं मिनेटमा फिलिपे कौटिन्होले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई सहज जिततर्फ अघि बढाए । कौटिन्हो ६३औं मिनेटमा लुकास पाक्वेटाको स्थानमा मैदान छिरेका थिए । ९०औं मिनेटमा अर्का परिवर्तित खेलाडी रिचार्लीसनले गोल गर्दै ब्राजिलको सानदार जित पक्का गरे ।
जितसँगै यसै वर्ष कतारमा हुने विश्वकपमा स्थान पक्का गरिसकेको ब्राजिलको १६ खेलबाट ४२ अंक पुगेको छ । शीर्षस्थानमा रहेको अपराजित ब्राजिलले १३ जित र ३ बराबरीको नतिजा निकालेको छ । ब्राजिलसँगको हारपछि चिलीको विश्वकपमा छनोट हुने सम्भावना न्युन बनेको छ ।
प्रकाशित समय : १४:५० बजे



















