गृहपृष्ठ सुनकोसीको पानी: पाँचखालका सात हजारलाई
सुनकोसीको पानी: पाँचखालका सात हजारलाई

पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम तीव्ररूपमा अघि बढेको छ । निर्धारित समयमै सक्ने गरी आयोजनाका भौतिक पूर्वाधारको काम धमाधम भइरहेको जनाइएको छ । पाँचखाल नगरका १० वडाका सात हजारलाई खानेपानी पुर्याउने लक्ष्यका साथ हाल आयोजना कार्यान्वयनको चरणमा पुगेको हो ।
कोरोना संक्रमणको उच्च जोखिमका कारण केही समय पर धकेलिएको आयोजनाको कामलाई तीव्र पारिएको छ । नगरमा खानेपानीको व्यवस्थाका लागि भुम्लु गाउँपालिका-१० बिमिरेस्थित सुनकोसी नदी किनारमा इनार निर्माणका साथै लिफ्टिङ प्रविधि जडान पानी तान्ने व्यवस्था गरिएको छ ।
हाल मूल र रिजर्भ ट्यांकीसम्म पहुँचमार्गको काम भइरहेको समितिका अध्यक्ष कुमार लामिछानेले बताए । उनका अनुसार आयोजनाको भौतिक पूर्वाधारको काम ६० प्रतिशत भइसकेको छ । कोरोना संक्रमणका लहर तथा गत असार-साउनमा सुनकोसी नदीको बाढीले मुहान क्षेत्रका संरचनामा क्षति पुर्याएका कारण आयोजनाको काम केही धकेलिए पनि निर्धारित समयमै स्थानीयवासीका घरमा खानेपानी पुर्याउने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ थियो ।
परियोजनाका लागि २०७६ भदौ १२ गते सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिएको थियो । आयोजना २०७९ पुस महिनाभित्रै पूरा गर्नुुपर्ने सम्झौतामा उल्लेख छ । आयोजनाको काम नेपाली कम्पनी कन्काइ विल्डर्स् र चिनियाँ कम्पनी हुवाछे (ज्वाइन्ट भेन्चर)ले गरिरहेका हुन् । निर्धारित समयसीमाभन्दा पहिल्यै काम सक्ने गरी सरोकारवाला सबै परिचालन भइरहेका जनाइएको छ ।
प्रकाशित समय : ००:३८ बजे