nmb bank

गृहपृष्ठ एमाले केन्द्रीय कमिटीको बैठक सम्पन्न

एमाले केन्द्रीय कमिटीको बैठक सम्पन्न

एमाले केन्द्रीय कमिटीको बैठक सम्पन्न

नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठक आशन्न स्थानीय तहको निर्वाचनका लागि उत्साहका साथ लाग्न नेता-कार्यकर्तालाई निर्देशन दिँदै आज सम्पन्न भएको छ । बुधबारदेखि सुरु भएको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन छलफलसहित पारित गरेको छ भने विभिन्न ११ बुँदे कार्यसूचीमा निर्णय गरेको छ । सबै कार्यसूची सर्वसम्मतिले पारित गर्दै एकै लय तालका साथ जनताको घरदैलोमा जान र उनीहरुका समस्या बुझ्न बैठकले मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

बैठकको समापनका अवसरमा अध्यक्ष ओलीले आशन्न निर्वाचनलाई केन्द्रमा राखेर पार्टी पंक्ति परिचालन हुनुपर्ने, पार्टीलाई थप प्रभावकारी बनाउनुपर्ने, एउटै लय र तालमा जनताको घरदैलो जाने र जनताका समस्यासँग परिचित हुन निर्देशन दिनुभएको थियो । बैठकले पार्टीका सार्वजनिक कार्यक्रममा कम्तीमा पाँच जना वक्ता रहने, माला र खादाको प्रयोगमा कमी गर्ने, कार्यक्रम छिटो, छरितो बनाउने र मञ्चमा वक्तालाई मात्र राख्नुपर्ने जस्ता निर्वाचन लक्षित कार्यक्रमका विषयमा निर्णय भएको एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकले स्थानीय तहको उम्मेदवारको ६ मापदण्ड पारित गरेको छ । यही चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्न तथा वडा कमिटीको हकमा वडाले सिफारिस गरेर गाउँ नगरपालिकाले, गाउँ नगरपालिकाको जिल्लाले सिफारिस गर्ने उल्लेख छ । प्रदेशले, महानगर र उपमहानगरको प्रमुख, उपप्रमुखको हकमा सम्बन्धित कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्नेछ ।

बैठकले निर्वाचनको घोषणापत्रलाई चाँडै अन्तिमरुप दिन सचिवालयलाई अधिकार दिएको छ । पार्टीले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा (वैशाख ९ गते) सात सय ५३ स्थानीय तहमा एकैदिन देशव्यापी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने र सो दिवसलाई ज्येष्ठ कम्युनिष्टको सम्मानसहित सृजनात्मकरुपमा मनाउने निर्णय गरेको छ । निर्वाचन घोषणापत्र मस्यौदाका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, नेताहरु देवेन्द्र दाहाल, प्रभु शाह, मनोजजंग थापा, युवराज खतिवडा, प्रभा बराल, डा. दिनेशचन्द्र देवकोटासहितको कार्यदल गठन गरिएको छ । बैठकले विभिन्न विभागमा सदस्यको मनोनयन र पार्टीको वार्षिक कार्ययोजना पारित गरेको छ ।

प्रकाशित समय : ००:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु