गृहपृष्ठ पश्चिम नवलपरासीमा व्यावसायिक मेवाखेती सुरु
पश्चिम नवलपरासीमा व्यावसायिक मेवाखेती सुरु
नवलपरासी । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा अग्र्यानिक मेवाखेतीबाट प्रशस्त आम्दनी हुने गरेको छ । सुस्ता गाउँपालिका-३ रैवा निवासी ४० वर्षीय अर्जुन सहानीले जिल्लामा व्यावसायिक रूपमा मेवाखेती सुरु गरी हालसम्म तीन लाख आम्दानी गरेका हुन ।
कोरियाको वैदेशिक रोजगारीबाट फर्किएपछि परिवारसँग मिलेर अग्र्यानिक मेवाखेती गर्न थालेको उनले बताए । उनले भने, “कोरियाबाट मेवाखेतीसम्बन्धी तालिम लिएर नेपाल फर्किएपछि अहिले व्यावसायिक रूपमा खेती गर्न थालेको एक वर्ष भयो । अहिले मेवा बगैँचामा दैनिकी बित्ने गरेको छ ।”
करिब दुई लाख ५० हजार लागतमा १० कट्ठा जग्गामा ८०० मेवाका बिरुवाबाट खेती सुरु गरेको बताउँदै सहानीले अहिलेसम्म तीन लाखको मेवा बिक्री गरिसकेको जानकारी दिए । नारायणी नदीको नजिक मेवाखेती गरिरहेकाले बाढीले कुनै क्षति गरेन भने यस वर्ष सात लाखभन्दा बढीको मेवा बिक्री गर्ने लक्ष्य रहेको उनले बताए ।
उनका अनुसार परासी, मणिग्राम, भुमही र भैरहवाका व्यपारीले प्रतिकिलो ५० का दरले खेतबाटै खरिद गरेर लैजान्छन् । “रेडलेडी ७८६ ताइवान जातको मेवा हो, यो जातको मेवा बलौटे (दोरस) माटोमा फल्छ”, सहानीले भने ।
जिल्लामा एक जनाले मात्र व्यावसायिक रूपमा मेवाखेती गरेका बर्दघाट सुुस्ता पश्चिम नवलपरासी कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिए । मेवाखेती सम्बन्धी अरु किसानलाई ज्ञान नभएको, सबै ठाउँमा दोरस माटो नभएकोलगायत कारणले अरु किसानले मेवाखेतीमा रुचि नदेखाएका उनको भनाइ छ ।
प्रकाशित समय : २०:३३ बजे



















