गृहपृष्ठ वडामा हुने घटना व्यवस्थापनका लागि आठ सय प्राथमिक उपचारकर्ता
वडामा हुने घटना व्यवस्थापनका लागि आठ सय प्राथमिक उपचारकर्ता
काठमाडौं । काठमाडौं महानगरपालिकाले वडाभित्र हुने विभिन्न घटना व्यवस्थापन गर्न ८०० जना प्राथमिक उपचारकर्ता तयार गर्ने भएको छ । त्यसका लागि कामपाले ३२ वटै वडामा प्राथमिक उपचार तालिम सञ्चालन गरेर ८०० जना प्राथमिक उपचारकर्ता जनशक्ति तयार गरिरहेको जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखासँगको सहकार्यमा वडास्तरीय तालिम सञ्चालन भइरहेको कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन । उनले भनिन, “वडा क्षेत्रभित्र हुने घटना व्यवस्थापन गर्न प्राथमिक उपचार तालिम प्रभावकारी हुनेछ ।” घटनाका प्रकृति फरक हुँदै गएको अवस्था विश्लेषण गर्दै सबै खालका घटनाको व्यवस्थापन गर्ने क्षमता विकास गराउने काम भइरहेको उनले बताइन ।
“रेडक्रसले आफूलाई होइन, अरुका लागि भन्ने सिकाउँछ”, कार्यवाहक प्रमुख डङ्गोलले भनिन, “प्राथमिक उपचार पनि अरुको सेवा गर्छु भनेर सिक्ने सीप हो । यो आफूलाई कम र अरुलाई धेरै काम लाग्छ ।” उनका अनुसार कामपाले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन समुदायस्तरीय स्वास्थ्य सचेतना, क्षमता विकाससहित प्रवर्द्धन केन्द्रमा प्रयोगशालासहितका सुविधा थालेको छ ।
स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले भने, “करदाताले तिरेको करलाई स्वास्थ्य सेवाको पहुँच र स्तरवृद्धि गर्नमा खर्च गरिरहेका छौँ । तालिममा सिकेको सीप घटना नभए पनि अभ्यास गरिरहनुपर्छ नत्र बिर्सेर आपत्का बेला काम नलाग्न सक्छ ।”
दक्ष प्राथमिक उपचारकर्ता उत्पादन गर्ने गुणस्तरीय दायित्वका रूपमा पूरा गर्ने रेडक्रस सोसाइटी काठमाडौं शाखाका सभापति श्यामकाजी डोटेलले अहिलेको लगानी विपद्मा काम लाग्ने बताए ।
“दुर्घटना, चोटपटक, अचानक बिरामी पर्ने अवस्थाजस्ता स्वास्थ्यजन्य आपत्कालीन परिस्थितिमा बिरामीलाई अस्पताल पुर्याउनुअघि अवस्था थप बिग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो । यसका लागि घटनास्थल वरपर जे सामान तथा वस्तु पाइन्छ, त्यसैलाई प्रयोग गरेर जीवन बचाउने तथा अवस्था थप बिग्रिन नदिने वा उपचारका लागि अस्पताल लैजाने विधि सिकाइन्छ”, उनले भने ।
यसमा दुर्घटनास्थलमा आफ्नो र घाइतेको सुरक्षा, घाइतेको अवस्था प्रारम्भिक जाँच, मुटुको धड्कन वा श्वासप्रश्वास बन्द भएको व्यक्तिलाई छाती थिचेर र कृत्रिम श्वास दिएर पुनर्जीवित गराउने विधि (सिपीआर), रक्तश्राव नियन्त्रण गर्ने तरिका सिकाइन्छ । शरीरबाट रगत बग्दा, नाकबाट रगत बग्दा नियन्त्रण गर्ने, हड्डी भाँचिएको वा मर्किएको थाहा पाउने विधि सिकाइन्छ ।
प्रकाशित समय : २०:५६ बजे


















