nmb bank

गृहपृष्ठ श्रीकृष्ण विक घटनाः शव काठमाडौं लगियो

श्रीकृष्ण विक घटनाः शव काठमाडौं लगियो

श्रीकृष्ण विक घटनाः शव काठमाडौं लगियो

सिन्धुली । इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको हिरासतमा मृत्यु भएका श्रीकृष्ण विकको शव परीक्षणका लागि काठमाडौं लगिएको छ । मृत्युको कारण स्पष्ट पार्न र घटनाको थप अनुसन्धान गर्न सिन्धुली अस्पतालमा रहेको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको हो ।

विवाह गरेपछि श्रीकृष्णलाई एक किशोरीको बलात्कार गरेको आरोप लागेपछि ललितपुर प्रहरीले वैशाख ३ गते पक्राउ गरेर खुर्कोट पठाएको थियो । सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडाका २३ वर्षीय श्रीकृष्णको खुर्कोटस्थित हिरासतभित्रै वैशाख ७ गते मृत्यु भएकोे इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार श्रीकृष्णले हिरासत कक्षमा रहेको शौचालयभित्र आत्महत्याको प्रयास गरेका थिए । अचेत अवस्थामा प्रहरीले उद्धार गरेर स्थानीय सुनकोशी अस्पतालमा लगेको जनाउँदै त्यहाँबाट सिन्धुली अस्पतालमा लगिएकामा चिकित्सकले मृत्यु भएको घोषणा गरेका उनले बताए।

मृतककी आमा विन्दामाया विकले भने छोराको मृत्युप्रति प्रहरीसँगै आशङ्का व्यक्त गरेका छन । प्रहरीका कारण आफ्नो छोराको ज्यान गएको आङ्शका व्यक्त गदैं उनले निष्पक्ष छानबिनको माग गरिन । न्यायको माग गर्दै पीडितपरिवारसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बिहीबार र शुक्रबार दिउँसो ३ः०० बजेसम्म जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएकी थिइन ।

सङ्घीय सांसद आशिष गजुरेल, धनेन्द्र कार्की, खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, गणेश विक र खिमा विश्वकर्मासहित पीडित पक्षले घटनाको यथेष्ट प्रमाणसहित न्यायको माग गरेका थिए ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन भएपछि आन्दोलन स्थगित गरेर मृतकको शव काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए ।

प्रहरी नायब महानिरीक्षक आचार्य संयोजक रहेको समितिमा नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गतको युएन शाखाका प्रहरी उपरीक्षक रवीन्द्रनाथ पौडेल, नेपाल प्रहरी प्रधान कार्यालयका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी निरीक्षक इन्द्रजित मगर, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक प्रेम रेग्मी र प्रहरी नायब निरीक्षक रामेश्वर सापकोटा रहेका छन । उक्त समितिलाई घटनाका सम्बन्धमा तथ्यगत एवं वस्तुनिष्ट छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

मृतक श्रीकृष्ण र पीडितपरिवारलाई उचित न्याय दिलाउने सिन्धुलीमा उपस्थित सांसदहरूले प्रतिबद्धता जनाएका छन । घटनापछि सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

मङ्गलबार गठन गरिएको उक्त छानबिन समितिमा सहायक न्यायाधिवक्ता भविराम राई, सुनकोशी गाउँपालिका–३ का वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ, दलित सेवा सङ्घका सदस्य सञ्जुकुमार विश्वकर्मा, समाजसेवी तथा पूर्वप्रहरी पदम श्रेष्ठ, चिनामाया विक सदस्य रहेका थिए भने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकसुवेदी सदस्यसचिव रहेका छन । उक्त समितिप्रति पीडित पक्षले आङ्शका व्यक्त गरेपछि शुक्रबार उच्चस्तरीय छानबिन समिति गठन भएको हो ।

प्रकाशित समय : २०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु