nmb bank

गृहपृष्ठ सुरु भयो गुल्मी महोत्सव

सुरु भयो गुल्मी महोत्सव

सुरु भयो गुल्मी महोत्सव

तम्घास । गुल्मीमा पाँचौँ गुल्मी महोत्सव सुरु भएको छ । ‘जिल्लाको सम्पन्नता र समृद्धिको निकासः शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने मूल नारासहित गुल्मी उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि महोत्सव सुरु भएको हो । महोत्सवको पहिलो दिन तम्घासको बालमन्दिरदेखि पुरानोबजार–पुतलीबजार–भीमचोक–क्याम्पसरोड हुँदै महोत्सवस्थल नुनथलासम्म विभिन्न सङ्घसंस्थाले र्‍याली निकालेका थिए ।

नेवाः खल गुल्मी, नेवाः खल बलेटक्सार, लोक तथा दोहोरी गीत प्रतिष्ठान, विभिन्न विद्यालय, आमा समूह, पुल्चोक युवा क्लब, फोर्टिन स्टार युवा क्लब र रेसुङ्गा भजन साँझलगायतले महोत्सवको उपलक्ष्यमा र्याली निकालेका थिए । रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले महोत्सवले समग्र जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने बताए।

महोत्सवमा दुई सयभन्दा बढी व्यापारिक कक्ष राखिएका छन् । जहाँ कृषि उपजदेखि पिङ, जलपरी लगायत विभिन्न व्यावसायिक, औद्योगिक तथा कृषि उत्पादन प्रदर्शन तथा बिक्री गरिने आयोजकले जनाएको छ । गुल्मीको समग्र आर्थिक विकास र समृद्धिलाई टेवा पुर्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। २३ गतेसम्म चल्ने महोत्सवलाई एक लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित समय : २०:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु