गृहपृष्ठ जीर्ण विद्यालय, चौरमा पठनपाठन

जीर्ण विद्यालय, चौरमा पठनपाठन

जीर्ण विद्यालय, चौरमा पठनपाठन

धवलागिरि गाउँपालिका-२ स्थित लुलाङ आधारभूत विद्यालयलाई चौरमा पठनपाठन गराउनुपर्ने बाध्यता छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको सबैभन्दा ठूलो दलित बस्ती लुलाङमा रहेको विद्यालय भवन भत्किएको र जीर्ण बनेका कारण खुला चौरमा पठनपाठन गराइएको हो ।

विद्यालयका प्रधानाध्यापक नागेन्द्र ठाकुरले दुईकोठे भवन भत्किएको र चारकोठे अर्काे भवन जीर्ण बनेकाले पठनपाठनमा समस्या भएको बताए । 'गत असोजमा कक्षा ६ र ७ को भवनको पर्खाल भत्किएको थियो', उनले भने, 'कार्यालय र दुई कक्षाकोठा भएको अर्को भवनको पर्खाल पनि बांगिएकाले जोखिम बढेपछि खुला चौरमा पठनपाठन गराउनुपरेको हो ।'

भिरालो पाखो सम्याएर फरकफरक ठाउँमा बनाइएको विद्यालयको भवन र खेलमैदान संरक्षणका लागि निर्माण भएको ग्यावियन पर्खाल पनि भत्किएको छ । भत्कने अवस्थाको जीर्ण भवनमा जोखिम, चौरमा धुलो र गर्मीले सताउने गरेको कक्षा ७ की विद्यार्थी प्रतिक्षा रसाइलीले बताए । 'चर्किएर बांगिएकाे भवनको पर्खाल कुनबेला भत्किन्छ भन्ने डर छ', उनले भने, 'भवनको जोखिमयुक्त अवस्थाले शैक्षिक वातावरणमा असर पुगेको छ, वर्षात् हुँदा पठनपाठन बन्द गर्नुपर्ने अवस्था छ ।'

विद्यार्थीका झोला, पुस्तक, कापी भिज्ने गर्छ । कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा २३५ विद्यार्थी छन् । यो आधारभूत तहमध्ये गाउँपालिकामा सबैभन्दा धेरै विद्यार्थी संख्या भएको विद्यालय हो । गत वर्ष तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा दुईकोठे ट्रस र खानेपानी तथा सरसफाइसहितको छात्रामैत्री शौचालय निर्माण गरिएको थियो ।

यसबाहेक अन्य चारमध्ये दुई भवन जीर्ण छन् । नयाँ भवन निर्माणका लागि गाउँपालिका, शिक्षा विकास तथा समन्वय एकाइलगायत निकायमा प्रस्ताव गरिएको प्रअ ठाकुरले बताए । सो विद्यालयको ६-८ तह निजी स्रोतबाट सञ्चालन गरिएको छ ।

प्रवासबाट आउने लाहुरेलाई स्वागत, विवाह, किरिया, छेवार, गुन्युचोली देखाउने जस्ता संस्कारगत कार्यमा नाचगानका साथै चन्दाबाट निजी स्रोतका शिक्षकको तलब भत्ता जुटाइने गरिएको छ ।

लुलाङका वडाध्यक्ष गमप्रसाद विकले विद्यालय भवन निर्माणका लागि पहल गर्ने बताए । 'नयाँ भवन निर्माणको आवश्यकता छ', उनले भने, 'गाउँपालिकामार्फत भवनको समस्या समाधानका लागि पहल गरेको छु ।'

प्रकाशित समय : १४:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु