गृहपृष्ठ ऊर्जा र सिँचाइ क्षेत्रको समस्या समाधान गर्छाैं, थप लगानी गर्नुस्: ऊर्जामन्त्री
ऊर्जा र सिँचाइ क्षेत्रको समस्या समाधान गर्छाैं, थप लगानी गर्नुस्: ऊर्जामन्त्री
सरकारले नेपालको ऊर्जा तथा सिँचाइ क्षेत्रमा देखिएको समस्या समाधान गरी सार्थक निकास दिन तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै थप लगानीका लागि एशियाली विकास बैंक (एडीबी)लाई आग्रह गरेको छ ।
ऊर्जा र सिँचाइमा सबैभन्दा बढी लगानी गर्नेमा एशियाली विकास बैंक नै शीर्ष स्थानमा छ । ती क्षेत्रमा बैंकको सबैभन्दा ठूलो लगानी रहेको उल्लेख गर्दै सरकारले आयोजना कार्यान्वयनमा देखिएका समस्या तथा अवस्थालाई सही तवरले समाधान गर्ने विश्वास दिलाएको हो । आयोजना विकास गर्दा सामाजिक एवं प्राविधिक विषय सम्बोधन गरेर समयमै सल्टाउनुपर्नेमा जोड दिँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दिनमा नयाँ योजना पहिचान गरी विकास गर्न सकिने विश्वास व्यक्त गरीन् ।
एडीबीको दक्षिण एसिया विभागका महानिर्देशक किनिची योकोयामा नेतृत्वको प्रतिनिधिमण्डलले जलविद्युत एवं सिँचाइ क्षेत्रका विविध आयोजनाबारे आज ऊर्जा मन्त्रालयमा छलफल गरेको थियो । छलफलमा ऊर्जा र सिँचाइ क्षेत्रमा एडीबीको सबैभन्दा ठूलो लगानी रहेको उल्लेख गर्दै उक्त प्रतिनिधिमण्डलले ती आयोजना कार्यान्वयनको अवस्था एवं नयाँ आयोजनाका सम्भावनाका विविध विषयमा चासो राखेको थियो ।
त्यस अवसरमा मन्त्री भुसालले जलस्रोत तथा सिँचाइ क्षेत्रका आयोजनालाई सरकारले विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै आर्थिक विकासका लागि सबैभन्दा महत्वपूर्ण विषय कृषि नै भएकाले यस क्षेत्रमा एडीबीको सहयोग आवश्यक रहेको बताइन् । उनले भनीन्, 'सुख्खा जमिनमा सिँचाइ सुविधा पुर्याउन सकेमा कृषिजन्य वस्तुको आयात रोक्न सकिन्छ र त्यसले हाम्रो देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँछ । त्यसैले हामीलाई तराईसहित मध्यपहाडका खेतीयोग्य जमिनमा सिँचाइ आयोजना पुर्याउनका लागि एडीबीको सहयोग आवश्यक छ ।'
एडीबीका दक्षिण एसिया महानिर्देशक योकोयामाले ऊर्जा र सिँचाइ क्षेत्रमा एडिबीको सबैभन्दा ठूलो लगानी रहेको उल्लेख गर्दै ती क्षेत्रका आयोजना कार्यान्वयनमा देखिएका समस्या तथा अवस्थालाई सहितवरले समाधान गर्नुपर्नेमा जोड दिए । आयोजना विकास गर्दा सामाजिक एवं प्राविधिक विषय सम्बोधन गरेर समयमै सल्टाउनु पर्ने बताउँदै उनले आगामी दिनमा नयाँ योजना पहिचान गरी विकास गर्न सकिने विश्वास व्यक्त गरे ।
भेटमा ऊर्जा सचिव देवेन्द्र कार्की, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थिति थियो । त्यसैगरी एडीबीका तर्फबाट दक्षिण एसिया हेर्ने उपमहानिर्देशक मनमोहन प्रकाश र नेपालका लागि देशीय निर्देशक आरनौड काउचरिजलगायत प्रतिनिधि उपस्थित थिए ।
प्रकाशित समय : २३:५७ बजे



















