गृहपृष्ठ तराईमा आज होली हर्षोल्लासका साथ मनाइँदै

तराईमा आज होली हर्षोल्लासका साथ मनाइँदै

तराईमा आज होली हर्षोल्लासका साथ मनाइँदै

रङको पर्व होली आज यहाँ हर्षोल्लासका साथ मनाइँदैछ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ ।

होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ । केही मुसलमान समुदायका युवाले होली मनाउने समूहसँग मिलेर पर्व मनाउने गरेको युवा नेता वसिम आलमले बताए । बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास गरिन्छ ।

कला र संस्कृतिले भरिपूर्ण नेपालमा देशैभर उत्साहका साथ मनाइने फागु पूर्णिमा (होली) तराईका जिल्लामा आज धुमधामसँग मनाइँदै छ । रङहरूको पर्वका रूपमा मनाइने होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङमा रंगिएर उल्लासपूर्वक वातावरणमा नाचगान रमाइलो गर्ने चलन छ ।

फागुपूर्णिमाको अवसरमा हिमालदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढ हातमा रङ र रंगिन घोल पदार्थ लिएर विभिन्न भाकामा गीत गाउँदै, बाजा बजाउँदै रमाइलो गर्ने प्रचलन छ ।

यस पर्वका लागि बजारमा फलफूल, मासु, रङ र अबिरको बिक्री बढेको पाइएको छ । खसीको मासुको मूल्य किलो २०० बढेर प्रतिकिलो एक हजार २०० पुगेको छ । ब्रोइलर कुखुराको मासु ३८० बाट प्रतिकिलो ४५० पुगेको स्थानीय मासु पसले मोहम्मद करियाले जानकारी दिए ।

होली पर्वमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गरिएको मोरङका इन्स्पेक्टर जनार्दन जिसीले जानकारी दिए । होली पर्वका कारण बजारमा चहलपहल बढेको पाइएको छ ।

प्रकाशित समय : १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु