गृहपृष्ठ नेवि संघ सभापतिमा शेर्पा, शाही र थापा, महामन्त्रीमा थेबे र सापकोटाको दावी

नेवि संघ सभापतिमा शेर्पा, शाही र थापा, महामन्त्रीमा थेबे र सापकोटाको दावी

नेवि संघ सभापतिमा शेर्पा, शाही र थापा, महामन्त्रीमा थेबे र सापकोटाको दावी

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका सबै भ्रातृ संगठनलाई पूर्णता दिने तयारी गरेका छन् । देउवाले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संगठनको तदर्थ समिति गठन गर्ने तयारी गरेका हुन् ।

कांग्रेसको नेता उत्पादन गर्ने नर्सरीको रुपमा रहेको नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयन गर्नका लागि सभापति देउवाले आफूनिकट नेताहरूसँग छलफल गरिरहेका छन् । विधानअनुसार ३२ वर्षको उमेर हदबन्दीभित्रै नयाँ नेतृत्व चयन गर्ने कांग्रेसको तयारी छ । अधिकांश पदाधिकारी पनि नयाँ व्यवस्थाअनुसार नै नेवि संघको तदर्थ समिति गठन गर्नु पर्ने पक्षमा रहेका छन् ।

यी हुन् सभापतिका दाबेदार

कांग्रेसका एक पदाधिकारीले नेवि संघमा नयाँ पुस्तालाई नेतृत्व दिने तयारी भइरहेको बताएका छन् । उनका अनुसार नेपाल विद्यार्थी संघको सभापतिमा दुजाङ शेर्पा, प्रेम शाही र मनिष थापामध्ये एकलाई जिम्मेवारी दिने तयारी भइरहेको छ । सभापतिका दाबेदार शेर्पा कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि हुन् । नेवि संघको ११औं महाधिवेशनमा सहमहामन्त्रीमा प्रतिस्पर्धा गरेका शेर्पाले पार्टी नेतृत्व तथा पदाधिकारीलाई भेटेर संगठनको नेतृत्व गर्न आफू तयार रहेको बताउँदै आएका छन् ।

शाही नेवि संघका निवर्तमान केन्द्रीय सदस्य हुन् । उनी पशुपति क्याम्पसका पूर्व इकाई सचिव हुन् । कुशल संगठक शाहीले नेवि संघको सभापति बन्नका लागि लबिङ गरिरहेको छन् । थापाले अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन् । नेवि संघमा काम नगरे पनि उनले पदाधिकारीमा दावी गरिरहेका छन् । उपसभापतिमा एलिजा ढकाल, सुशील भट्ट, टकेन्द्र राई, मीरा कटुवाल, पूजा फुयाल लगायतले दावी गरेका छन् । ढकाल र भट्ट र कटुवाल नेवि संघका पूर्व केन्द्रीय सदस्य हुन् । राई नेवि संघ सुनसरी जिल्ला सचिव हुन् ।

महामन्त्रीमा मुख्य २ दाबेदार

त्यसैगरी, महामन्त्रीमा मुख्य दुई युवा नेताले दावी गरेका छन् । संस्थापन पक्ष युवा नेता राज थेबे र उषा सापकोटालाई महामन्त्रीको जिम्मेवारी दिने कांग्रेसको तयारी छ । थेबे केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन् । उनी झापाको धुलाबारी क्याम्पस पूर्व इकाई सभापति तथा ताप्लेजुङको सिरिजंघा गाउँपालिका-२ का पूर्व पार्टी सचिव पनि हुन् । सापकोटा बागलुङबाट प्रदेश प्रतिनिधिमा निर्वाचित भएकी हुन् ।

नेवि संघको पदाधिकारीका आकांक्षीहरूमा आकाश उप्रेती, गीता गुरुङ, पुनम भट्ट, पदम भट्ट, भुपेन्द्र थेबे, सञ्जीव ढकाल, प्रेमिका राना मगर, सुशान्त आचार्य लगायत छन् । नेवि संघका सभापति राजीव ढुंगाना नेपाली कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएपछि संगठनको तदर्थ समिति गठनको तयारी भइरहेको छ ।

प्रकाशित समय : २३:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु