गृहपृष्ठ सत्ता गठबन्धनबाटै गठबन्धन बन्ने सम्भावना, कांग्रेसमा तीनथरी मत
सत्ता गठबन्धनबाटै गठबन्धन बन्ने सम्भावना, कांग्रेसमा तीनथरी मत
नेपाली कांग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार स्थानीय तहको निर्वाचनको तयारीका लागि पार्टीबाट खटिने केन्द्रीय प्रतिनिधिलाई प्रशिक्षण दिँदै गठबन्धनका दलका नेताहरूकाे चित्त दुख्नेगरी नबोल्न निर्देशन नै दिए । किनकि देउवा गठबन्धनका दलहरुसँग तालमेल गर्दै आगामी चुनावमा भाग लिन खोजिरहेका छन् ।
त्यसयता पनि उनी पटक-पटक गठबन्धनका दललाई चिसो पस्ने गरी नबोल्न नेताहरुलाई आग्रह गरिरहेका छन् । मूलतः देउवाको चाहाना छ, गठबन्धनकै बलमा चुनावमा गए बहुमत ल्याउन सकिन्छ र चुनावपछिको सरकारसमेत कांग्रेसकै हुनेछ । तर देउवाको चाहनाविपरीत उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माजस्ता दोस्रो तहका नेताहरु कांग्रेस एक्लै चुनावमा जाने बताइरहेका छन् । ‘हात्तीका कानमा चमेराकाे ओत’ भन्ने व्यंग्य गर्दै गठबन्धनमै आवद्ध माओवादी-समाजवादीलाई तर्साइरहेका छन् । र यसमा सभापतिमा देउवासँग पराजित भएका शेखर कोइराला लगायतका नेताहरुको साथ छ ।
उनीहरुको एउटै चिन्ता छ, यदि कांग्रेसीहरुले अन्य पार्टीलाई भोट हाल्ने अवस्था आए मनोवल गिर्न सक्छ । फलतः दोस्रो तहका नेताहरु एक्लै चुनावमा जाने र एक्लै बहुमत ल्याएर आउने दाबी गरिरहेका छन् । कांग्रेसभित्र तेस्रो पक्ष छ, जसले न देउवा न गगन, मझधारबाट विकल्प खोजिरहेको छ । स्थानीय तहको निर्वाचनका विषयमा निर्णय गर्ने अधिकार स्थानीय तहलाई नै दिने, केन्द्रले हस्तक्षेप नगर्ने । यस विकल्पमा महामन्त्री गगनकुमार थापासमेत सहमत छन् । तर गठबन्धनलाई चुनावी समीकरणमा बदल्नै पर्ने दबाब दिइरहेका रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाजस्ता नेताहरुका कारण देउवा थप संकटमा छन् ।
किनकि सत्ता गठबन्धनका दलबीच समीकरण नगर्दा गठबन्धन भत्किने र वाम पार्टीहरूबीच तालमेल हुनसक्ने जोखिमलाई उनीहरुले औंल्याइरहेका छन् । नेताहरुको बुझाइअनुसार एक्ला-एक्लै चुनाव लड्दा कांग्रेस पहिलो पार्टी हुनेमा कुनै शंका छैन तर कांग्रेस एक्लै लड्ने र अर्कोतिर प्रचण्ड, माधव र ओलीबीच तालमेल भए ठूलो क्षति हुने आँकलन गरिएको छ । तर पनि दोस्रो तहका नेताहरु माओवादी-समाजवादीलाई भोट हाल्ने पक्षमा छैनन् । यस्तो अवस्थामा प्रचण्ड-माधवले कस्तो भूमिका खेल्छन्, त्यो पनि निर्णायक छ । विभाजनको मार खेपेका माओवादी-समाजवादी आगामी चुनावमा जित्न नसके अस्तित्व संकटको जोखिममा पुग्नेछन् । यसैकारण उनीहरुलाई गठबन्धन गर्नैपर्ने बाध्यता छ ।
अर्कोतर्फ पूर्वसहकर्मी एवं एमाले अध्यक्ष ओलीसँग प्रतिष्ठाको लडाइँ चलिरहेको छ । एमालेलाई देखाउनकै लागि भए पनि प्रचण्ड-माधवलाई गठबन्धन बनाउनुपर्ने बाध्यता छ । तर गठबन्धनकै दलभित्र अर्को गठबन्धनको सम्भावना बलियो बनेर आएको छ । कांग्रेसले चुनावी तालमेल नगरे कांग्रेस बाहेकका अन्य तीन दलबीच तालमेल गर्दै चुनावमा जाने तयारी पनि अर्कोतर्फ चलिरहेको छ । यदि यसो भए, सरकार र प्रधानमन्त्री देउवामाथि दलहरुको विश्वासमा प्रश्न उठ्ने छ ।
प्रकाशित समय : १७:०६ बजे


















