गृहपृष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक आठ भाषामा प्रकाशित

सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक आठ भाषामा प्रकाशित

सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक आठ भाषामा प्रकाशित

सीमाविद् बुद्धिनारायण श्रेष्ठको ‘इन्टरनेसनल बाउन्ड्रिज अफ नेपाल’ नामक पुस्तक आठ भाषामा प्रकाशित भएको छ । सन् २०१९ मा युरोपेली राष्ट्र लातभियाको ल्याम्बर्ट एकेडेमिक पब्लिसिङले अंग्रेजी भाषामा प्रकाशित गरेको उक्त पुस्तक अहिले फ्रेन्च, रुसी, जर्मन, डच, इटालियन, स्पानिस, पोर्चुगिज र पोलिस गरी थप आठ भषामा अनुवाद गरी प्रकाशन गरेको हो ।

शैक्षिक संस्था ल्याम्बर्ट एकेडेमिकले हालै प्रकाशन गरेको ती पुस्तकको प्राक्कथन इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिटका पूर्वनिर्देशक तथा डरहम विश्वविद्यालय बेलायतका प्राध्यापक मार्टिन प्राटले लेखेका छन् । पुस्तकमा अन्तर्राष्ट्रिय सीमा सिद्धान्त, सीमा निर्धारणका चरण, सीमा विवाद हुने कारण, विश्वका सीमा विवादित मुलुकहरु, यसको समाधानका उपाय, सीमालाई लिएर लडाइँ भएका देशहरु, विश्वका प्रख्यात सीमारेखाहरु, सीमा कूटनीति, आकाश र पातालमा पनि सीमा पुगेको हुन्छ जस्ता सैद्धान्तिक विषयवस्तु समेटिएको छ ।

यसैगरी नेपालको भारत र चीनसँग सीमांकन गर्दाको सिद्धान्तको विवेचना पनि पुस्तकमा गरिएको लेखक श्रेष्ठले जनाएका छन् । अनलाइन पढ्न पाइने यस पुस्तक नेपालको सीमा मामिला जान्न चाहनेहरुको लागि उपयोगी हुने छ । नेपालको लिपुलेक-कालापानी-लिम्पियाधुरा भारतद्वारा अतिक्रमण, लिपुलेक सीमाघाँटीको कानुनसंगत अधिकार, कालापानी मामिला अन्तर्राष्ट्रियकरण, नेपाल र भारतबीच चुच्चे नक्साको लडाइँ र सीमा समस्या सौहार्दपूर्ण तरिकाले आपसी वार्ताद्वारा समाधान हुनसक्ने उपायहरु पनि लेखकले पुस्तकमा सुझाएका छन् ।

पुस्तकमा नेपालको सगरमाथामाथि चीनले दाबी गर्दा भएको समझदारी, यसको उचाइ विवाद हल भएपछि संयुक्त घोषणाका विवरण, नेपाल र चीनबीच सीमाचिन्ह नम्बर ५७ मा विवाद रहेको, चीनको बिआरआई, नेपालको कोरिडोरजस्ता व्यावहारिक विषयवस्तु उल्लेख गरिएको छ । नेपालको छिमेकी मुलुकसँग भएका १८ सीमा सन्धि सम्झौता अनुसूचीमा सम्लग्न गरिएका छन् ।

सीमासँग सम्बन्धित बेलायतको इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट, अमेरिकाको एशोसियसन फर बोर्डरल्यान्ड स्टडिज, एसिया र अफ्रिकाको बोर्डरल्यान्ड रिसर्च नेटवर्कहरु र डेनमार्कमा मुख्यालय भएको इन्टरनेशलन फेडरेशन अफ सर्भेयर्सजस्ता विश्व संस्थाहरुको सीमासम्बन्धी क्रियाकलाप पनि पुस्कमा वर्णन गरिएको छ । इन्टरनेशलन बोर्डर डिप्लोमेसी, अमेरिका-नर्थ कोरिया टु-मिनेट डिप्लोमेसी, ट्रम्पले विश्व मानचित्रमा नेपालको सीमालाई बेवास्ता गरेको, अशान्त भारत-पाकिस्तान सीमा, भारत-बंगलादेश सीमा सम्झौताको सन्देशजस्ता विश्व परिवेशलाई पुस्तकमा समेटिएको छ ।

पुस्तक सीमा अध्येतालाइ उपयोगी हुने र विभिन्न देशका विद्यालय, महाविद्यालयमा सिमानासम्बन्धी आधारभूत कोर्स बुकका रुपमा राख्नका निम्ति उपयोगी हुने दाबी लेखक श्रेष्ठको छ । यसै पुस्तकलाई नयाँ दिल्लीको निराला पब्लिकेसन्सले दक्षिण एसियाली संस्करणका रुपमा प्रकाशनमा ल्याएको छ ।

प्रकाशित समय : १९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु