गृहपृष्ठ स्थानीय तहको निर्वाचन जित्न कांग्रेस आजदेखि घरघर पुग्दै, एकमहिने अभियान सुरु
स्थानीय तहको निर्वाचन जित्न कांग्रेस आजदेखि घरघर पुग्दै, एकमहिने अभियान सुरु
सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा आफुलाई बलियो बनाउन आइतबारदेखि ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको सुरु गरेको छ । ७७ वटै जिल्लामा सुरु भएको अभियान एक महिनासम्म चल्नेछ।
अभियानका लागि कांग्रेसले देशका ७७ वटै जिल्लाहरुमा केन्द्रीय सदस्यहरु खटाएको छ। कांग्रेसले प्रतिनिधिका रूपमा खटाइएका नेताहरुलाई फागुन २७ गतेभित्र सम्बन्धित जिल्लामा पुग्न निर्देशन दिएको थियो ।
एक महिने अभियानका लागि कांग्रेसले आठ वटा उद्देश्य तय गरेको छ। आठौँ उद्देश्यमा भनिएको छ, ‘करिब करिब राष्ट्रिय सहमतिको स्थिति निर्माण गरेर हालसम्मकै सबैभन्दा ठूलो सहयोग परियोजना एमसीसी कांग्रेस नेतृत्वको वर्तमान सरकारले संसदबाट पारित गरेको हुँदा त्यसबारे जनस्तरमा छरिएका भ्रम बुँदागत रुपमा चिर्दै वास्तविकता प्रष्टसँग राख्ने।’
अभियानका क्रममा कांग्रेसले प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बाबजुद संविधानको रक्षाका लागि बाध्यात्मक परिस्थितिमा सरकारमा जानु परेको यथार्थ पनि जनता सामु राख्ने जनाएको छ।
अभियानका क्रममा तत्कालीन नेकपा नेतृत्वको सरकारको तीन वर्षीय कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण पनि उठाउने तयारी गरेको छ।
प्रकाशित समय : १५:०६ बजे


















