गृहपृष्ठ एमालेको अवरोधले बागमती प्रदेशसभा अधिवेशन अन्त्यको तयारी
एमालेको अवरोधले बागमती प्रदेशसभा अधिवेशन अन्त्यको तयारी
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध निरन्तर जारी रहेपछि बागमती प्रदेशसभाको नवौं अधिवेशन अन्त्यको तयारी गरिएको छ । करिब तीन महिनादेखि एमालेका कारण प्रदेशसभाको बैठक स्थगित हुँदा ऐन निर्माण, संशोधनसहित सर्वसाधारणका समस्याका बारेमा छलफल हुन सकेको छैन ।
चालु आर्थिक वर्षको चार महिना मात्र बाँकी रहेको छ । प्रदेशसभामा अझै हिउँदे अधिवेशन चलिरहेको छ । हिउँदे अधिवेशनलाई कानुन निर्माण गर्ने समयका रूपमा चित्रण गर्ने गरिए पनि बजेट अधिवेशन सञ्चालन गर्नुपर्ने समय भइसकेका छ । त्यसकारण प्रदेश सरकार यस अधिवेशन स्थगित गरेर अगाडि बढ्ने दाउमा पुगेको हो ।
एमालेको अवरोधका कारण २०७८ पुस ८ बाट स्थगित प्रदेशसभा बैठक अझै सुचारु हुन सकेको छैन । आन्तरिक कानुन तथा मामिला मन्त्री तथा सरकारका प्रवक्ता कृष्ण खनालले एमालेको अवरोधका कारण पटकपटक बैठक स्थगित गर्नुपरेको बताए । फागुन १६ मा सहमतिमै बैठक बोलाए पनि सभामुखले किन बैठक स्थगित गरे सरकारलाई थाहा नभएको जानकारी दिए । सहमति भइसकेकाले फागुन २९ को बैठक सञ्चालन हुने मन्त्री खनालको दाबी छ ।
अवरोध कायम रहेमा अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत काम गर्नुको विकल्प सरकारसँग नभएको मन्त्री खनालले बताए ।
प्रकाशित समय : १४:०२ बजे



















