प्रचण्ड भेट्न खुमलटार पुगे प्रधानमन्त्री देउवा
वि.सं.२०७८ फागुन ११ बुधवार १५:१६
shares

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा खुमलटार पुगेका छन् । हिजो बेलुकामात्रै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटवार्ता गरेका प्रधानमन्त्री देउवाले आज बिहानै प्रचण्डसँग भेट गरेका हुन् ।
संसदमा टेबल भएको एमसीसी पारित गर्नका लागि प्रधानमन्त्री देउवाले दौडधुप बढाएका छन् । देउवा र ओलीबीच हिजो भएको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ । हिजोको भेटमा देउवाले ओलीलाई एमसीसीमा सघाउन आग्रह गरेका थिए ।
जवाफमा ओलीले पहिले आफूहरुको माग पूरा गर्न भनेका थिए । एमालेले आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै आएको छ । त्यसबाहेक गठबन्धन भत्काउनुपर्ने र सभामुखमाथि कारबाही गर्न तयार हुनुपर्ने एमालेकाे माग छ ।

























